रामधुनी । रामधुनी नगरपालिका–९ को धुराहा खेल मैदानमा निर्माणाधीन स्टेडियमको माथिल्लो तलाको छत ढलानमा प्रयोग गरिएको रेडी मिक्स कङ्क्रिट (आरएमसी) प्राविधिक मापदण्डविपरीत ‘सेट’ हुन बढी समय लागेपछि कामको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।
प्राविधिक मापदण्डअनुसार १० घण्टाभित्र कङ्क्रिट जमेर ‘सेट’ हुनुपर्ने भए पनि २४ घण्टापछि मान्छे हिँड्दासमेत खुट्टा भासिने अवस्था देखिएपछि कामको गुणस्तरमाथि प्रश्न उठेको हो । नगरपालिकाका इन्जिनियर सन्दिप झाले मापदण्डअनुसार समयमा ढलान ‘सेट’ नभएको पुष्टि गरे । ‘३० देखि ४५ मिनेटभित्र सेट हुन थालिसक्नुपर्छ । जुन यहाँ देखिएन । जसलाई हामी इनिसियल सेटिङ टाइम भन्छौँ, त्यो ३० देखि ४५ मिनेटमा हुनुपर्छ,’ उनले भने, ‘पूर्ण रुपमा सेट हुने भनेको १० घण्टाभित्र हो । तर, त्यो चाँहि यहाँ भएन ।’
गत असार २२ गते नगर प्रमुख शंकरलाल चौधरीले प्राविधिक टोलीसहित स्टेडियमको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपश्चात उनले ‘गुणस्तरहीन काम भएको’ भन्दै ढलान भएको स्टेडियमको छत भत्काएर पुनर्निर्माण गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायी पक्षले पनि गल्ती स्वीकार्दै भत्काएर पुनर्निर्माण गर्न सहमति जनाएको थियो । तर, भत्काएर पुनर्निर्माण गर्नुको सट्टा निर्माण व्यवसायीले ढलानमाथि नयाँ सामग्री थपेर चिल्लो बनाएपछि स्थानीय आक्रोशित भएका छन् । ‘भित्री त्रुटीलाई छोप्न बाहिर चिल्लो बनाइएको’ स्थानीय गोविन्द बिष्टको दावी छ ।

त्यस्तै, नेकपा एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खडकाले सामाजिक सञ्जालमार्फत निर्माणको फोटो सार्वजनिक गर्दै नगरपालिका ‘चिरनिन्द्रामा सुतेको’ टिप्पणी गरेका छन् । प्रश्न गर्दै उनले भने, ‘काम कमसल छ, सम्बन्धित निकाय चिरनिन्द्रामा सुतेको अवस्था, बोल्ने को ?’
कोशी प्रदेश सरकारको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी कूल १ करोड २३ लाख रुपैयाँ बजेट मार्फत स्टेडियम निर्माणको अधुरो काम अघि बढाइएको हो । छत ढलान, प्याराफिट निर्माण, र बिल्डिङको चेन्जिङ रुम फिनिसिङका लागि रेखबहादुर श्रेष्ठ सञ्चालक रहेको अभयचन्द्र विल्डर्सले मूल्य अभिवृद्धि करसहित ७७ लाख ६६ हजार ६६० रुपैयाँमा ठेक्का लिएको थियो ।
गुणस्तरमा प्रश्न उठेपछि हालसम्म नगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छैन । नगरपालिकाका सूचना अधिकारी सुमन पौडेलका अनुसार ठेक्का सम्झौताअनुसार निर्माणको म्याद असारमै सकिएको छ । यद्यपि निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको भए पनि कार्यपालिका बैठकमार्फत निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । उनले भने, ‘असारमै म्याद सकिएको छ । निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएका छन् । तर त्यसबारे निर्णय गर्ने अधिकार कार्यपालिकालाई छ । हालसम्म म्याद थपको निर्णय भएको छैन ।’
स्टेडियम निर्माणमा त्रुटी देखिएको भन्दै नगर उपप्रमुख तारा थापाले अध्यनका लागि प्राविधिकहरुलाई खटाइएको बताइन । प्राविधिहरुको अध्यनको निष्कर्ष र सुझावका आधारमा आवश्यक परेमा स्टेडियमको छत भत्काएर पुनर्निर्माण गर्न नगरपालिका तयार रहेको थापाले भनाई छ । ‘त्रुटी देखिएको छ । प्रश्न उठेका छन् । हामीले विभिन्न राजनीतिक दलका नेताहरुको समेत सुझाव लिएका छौँ । विना आधार भत्काउँन मिल्दैन । त्यहि भएर प्राविधिकको टोली अध्यनका लागि खटाएका छौँ,’ उनले भनिन्, ‘नगरपालिका गम्भीर छ । प्राविधिहरुको अध्यनको निष्कर्ष र सुझावका आधारमा भत्काउँनु परे भत्काएर पुनर्निर्माण गर्नसमेत हामी तयार छौँ ।’
त्यस्तै, नगर प्रमुख चौधरीलेसमेत फिल्ड, ल्याब परीक्षणलगायतको नतिजाअनुसार आगामी निर्णय लिइने बताए । उनले भने ‘फिल्ड टेस्ट र ल्याब टेस्ट गरेर त्यसको रिजल्ट के आउँछ, त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडि बढाइन्छ ।’


































Discussion about this post