रामधुनी । सुनसरीस्थित झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बलात्कार मुद्दामा सजाय भोगिरहेका एक कैदी बुधबार बिहान फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रूपक पौडेल खत्री करिब बिहान २ बजे कारागारको बी ब्लकबाट भागेका कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रमुख सुवासकुमार लामिछानेका अनुसार मुढा बुन्न प्रयोग हुने बाँसको सहायताले पर्खाल नाघेर भागेको देखिएको छ । जिल्ला अदालत सुनसरीले गत चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय सुनाएको थियो। उनी ०८१ साउन २१ गतेदेखि पुर्पक्षका लागि झुम्का कारागारमा थिए ।
योभन्दा अघि पनि, ०६९ कात्तिक २३ गते, झुम्का कारागारबाट सुरुङ खनेर १२ कैदी फरार भएका थिए । जसमा हालसम्म ११ जना अझै फरार छन् ।
कैदी फरारको घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान, कारागार र सम्बन्धित निकायका प्रतिनिधिहरू रहेको समितिले घटनाको कारण र कारागारको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दोषी पत्ता लागेपछि कानूनी कारबाही गरिनेछ ।






























Discussion about this post