रामधुनी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारै संघीय निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मंगलबार जिल्ला कमिटीले कोशी प्रदेश कमिटीलाई सम्भावित उम्मेदवारको सूचीसहित सिफारिस पठाएको हो ।
सुनसरी क्षेत्र नं. १ मा मन्जु भण्डारी, जयकुमार राई, सूर्यप्रसाद पन्धाक, टिकाराम माङलेन र इन्द्रकुमार राई सिफारिस भएका छन् । यस क्षेत्रमा पूर्वसांसद जयकुमार राई र पार्टी केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपप्रमुख मञ्जु भण्डारीमध्ये एकले टिकट पाउने सम्भावना बलियो रहेको पार्टी स्रोतको दाबी छ ।
सबैभन्दा बढी आकांक्षी सुनसरी क्षेत्र नं. २ मा देखिएका छन् । यो क्षेत्रमा १० जनाको नाम सिफारिस गरिएको छ । एमालेका पूर्व केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भिम आचार्य गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर उनीमाथि भ्रष्टाचार मुद्दा लागेपछि पार्टीभित्र कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अन्योल बढेको छ । यद्यपि, उनको नाम सिफारिस सूचीमा समावेश गरिएको छ ।
यो क्षेत्रमा आचार्यसहित जगदिशप्रसाद कुसियैत, लक्ष्मी गौतम, नन्दकुमार बस्नेत, डेगराज फुँयाल, सरोज पोखरेल, रेवतिरमण भण्डारी, सुजन लामा, रन्जु सिग्देल र हेमनारायण चौधरी सिफारिस भएका छन् । सुनसरीका अन्य क्षेत्रको तुलनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बलियो रहेको र निवर्तमान सांसद भिम आचार्यमाथि भ्रष्टाचार मुद्धा लागेकाले यो क्षेत्रमा एमाले रक्षात्मक देखिएको छ ।
त्यस्तै, सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरी र तैयव हुसैन मियाको नाम सिफारिस भएको छ । पार्टी स्रोतका अनुसार कांग्रेस नेता विजयकुमार गच्छदारलाई पराजित गरेर चर्चामा आएकी भगवती चौधरी दोहोरिने सम्भावना बलियो रहेको छ । त्यस्तै, सुनसरी क्षेत्र नं. ४ मा जगदिशप्रसाद कुसियैत एकल रूपमा सिफारिस भएका छन् । एकल सिफारिस भएकाले यस क्षेत्रमा टिकट कुसियैतले पाउने लगभग निश्चितजस्तै देखिएको छ । गत निर्वाचनमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसँग कुसियैत झिनो मतान्तरले पराजित भएका थिए ।
क्षेत्रीय समितिहरूबाट आएका सिफारिस तथा पार्टीको विधि र मूल्यांकनका आधारमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको एमाले सुनसरी जिल्ला सचिव राम कोइरालाले बताए । उनले भने, ‘सबै क्षेत्रको वस्तुगत अवस्था, संगठन र राजनीतिक सन्तुलनलाई ध्यानमा राखेर सम्भावित नामहरू सिफारिस गरिएको हो । अब प्रदेश कमिटी हुँदै केन्द्रबाट अन्तिम निर्णय हुनेछ ।’
चारै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएसँगै एमाले सुनसरीमा चुनावी गतिविधि औपचारिक रूपमा अघि बढेको छ ।































Discussion about this post