रामधुनी । सुनसरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा चुनावको माहोल तातिँदै गएको छ । नेकपा एमालेले युवा नेता सुजन लामालाई उम्मेदवार बनाउँदै अघिल्लो जितलाई निरन्तरता दिने लक्ष्यसहित चुनावी मैदान समातेको छ । पार्टीभित्र गुटगत विवाद नरहेको र संगठन एकढिक्का रहेको दाबी गर्दै एमाले नेताहरू यसपटक नतिजा आफ्नो पक्षमा आउँनेमा विश्वस्त छन् ।
२०७९ सालको निर्वाचनमा एमाले भीम आचार्यले ३२ हजार २४ मत ल्याएर विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम मेहताले २६ हजार ६८ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३९१ मतसहित तेस्रो स्थान सुरक्षित गरेका थिए । यसअघि २०७४ मा नेपाली कांग्रेसका सीताराम मेहता विजयी भएका थिए भने त्योभन्दा अघिल्लो निर्वाचनमा एमालेका धर्म निरौला निर्वाचित भएका थिए । अघिल्ला परिणामले यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुँदै आएको देखाए पनि वैकल्पिक शक्तिको रुपमा रहेको रास्वपा पछिल्लो प्रभाव बढ्दो देखिन्छ ।
सुनसरी–२ अन्तर्गत ३० वडा र करिब १ लाख ५८ हजार मतदाता छन् । इटहरी र रामधुनी नगरपालिका निर्णायक मानिन्छन्, जहाँ एमालेको मताधार बलियो रहेको पार्टीको दाबी छ । इनरुवामा पनि एमालेको उपस्थिति उल्लेखनीय रहेको नेताहरू बताउँछन् ।
अघिल्लो चुनावमा देखिएको आन्तरिक असन्तुष्टि यसपटक नरहेको एमालेको भनाइ छ । इटहरीका पूर्वमेयर तथा सुनसरीका पूर्व एमाले अध्यक्ष द्वारिकलाल चौधरीले सुजनले अघिल्लोभन्दा बढी मत ल्याउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार पार्टीभित्र टिकट वितरणलाई लिएर विवाद नदेखिएकाले यसपटक संगठनात्मक एकता बलियो छ ।
युवा संघ कोशी प्रदेश संयोजकसमेत रहेका सुजन लामा पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन् । आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको उल्लेख गर्दै उनले जनताले अवसर दिए काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । भाषणभन्दा काममा विश्वास गर्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै उनले विद्यार्थी, युवा र ज्येष्ठ नागरिकका मुद्दा उठाउने बताएका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा पुनः प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा तेस्रो स्थान ल्याएका उनी यसपटक पनि प्रभावशाली प्रतिस्पर्धी मानिन्छन् । यस्तै नेपाली काँग्रेसले अनुभवी नेतृत्व अघि सारेको छ । कांग्रेसभित्र खुलेको अन्तरविरोध नदेखिए पनि मत जोगाउने चुनौती भने कायमै छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।
अघिल्ला परिणाम, स्थानीय तहमा पकड र पार्टी एकताको सन्देशका आधारमा एमाले उत्साहित देखिए पनि चुनावी प्रतिस्पर्धा सहज छैन । सुनसरी–२ मा अन्ततः मतदाताले कसलाई रोज्नेछन् भन्ने चासो बढ्दो छ । सुजन लामाको दाबी भने स्पष्ट छ— “जनताले अवसर दिए निराश पार्दिनँ ।”



































Discussion about this post