धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत जफत भएको छ । निर्वाचनमा प्रतिस्पर्धा गरेका २६ उम्मेदवारमध्ये विजेता र उपविजेताबाहेक बाँकी २४ जनाले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि जमानत जोगाउन सकेनन् ।
निर्वाचन कानुनअनुसार उम्मेदवारले जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । यस क्षेत्रमा ७९ हजार ६२६ सदर मत खसेकाले जमानत जोगाउन कम्तीमा ७ हजार ९६३ मत आवश्यक थियो । तर नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ र नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराईसहित २४ उम्मेदवारले उक्त मतसंख्या पुऱ्याउन सकेनन् ।
मतपरिणामअनुसार एमालेका लिम्बुले ६ हजार ४६३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने नेपाली कम्युनिस्ट पार्टीका भट्टराई ६ हजार ३३१ मतसहित चौथो स्थानमा रहे । नेपाली कांग्रेसका उम्मेदवार तामाङले भने ३ हजार ९९० मत मात्र प्राप्त गरे ।
यस निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ ३४ हजार ६२ मतसहित विजयी भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तामाङ शरिन २३ हजार ४२५ मतसहित उपविजेता बनेकी छन् । यी दुई उम्मेदवार मात्रै जमानत जोगाउन सफल भएका हुन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो । त्यसमध्ये ७९ हजार ६२६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए भने शरिन तामाङ उपविजेता बनेकी थिइन् ।

































Discussion about this post