रामधुनी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत जफत भएको छ ।
निर्वाचन कानुनअनुसार उम्मेदवारले जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । यो क्षेत्रमा ९५ हजार ५४१ मत सदर भएकाले जमानत जोगाउन करिब ९ हजार ५ सयबढी मत आवश्यक पर्दछ । तर अधिकांश उम्मेदवारले उक्त मत कटाउन नसक्दा उनीहरूको जमानत जफत भएको हो ।
जमानत जफत हुँनेमा नेकपा एमालेका सुजन लामा, नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी लगायत छन् । लामाले ८ हजार ३०३ मत प्राप्त गरे भने चौधरी १ हजार ८१६ मतमै रोकिइन । श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ८३४ मत प्राप्त गरे पनि जमानत जोगाउन असफल भए ।
यो क्षेत्रमा रास्वपाका लाल विक्रम थापा भारी मतले विजयी भएका छन् । उनले ५७ हजारभन्दा बढी मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।
यो क्षेत्रमा जम्मा २८ जना उम्मेदवार थिए । विजेता थापा र उपविजेता कोइरालाबाहेक सबैको जमानत जफत भएको छ ।

































Discussion about this post