सुनसरी । हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् ।
पार्टी स्रोतका अनुसार, केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन् । यद्यपि, उक्त राजीनामा औपचारिक रूपमा पार्टीले सार्वजनिक गरेको छैन ।
आगामी ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
यसअघि २७ देखि ३० पुससम्म सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तर, सो महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।
यद्यपि, महाधिवेशनको प्रक्रियामाथि असहमति जनाउने नेताहरूसमेत पछि थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
तत्कालीन सभापति देउवा समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन आह्वान गरेका थिए । पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
देउवा पक्षले निर्वाचनलाई कारण देखाउँदै उक्त प्रक्रिया टार्न खोजेपछि थापा–शर्मा समूहले पार्टीभित्रै विद्रोहको शैलीमा विशेष महाधिवेशन सम्पन्न गरेका थिए । उक्त महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्दै थापाको नेतृत्वमा १ सय ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
अब थापाको राजीनामापछि नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी नेतृत्वबारे थप राजनीतिक बहस चुलिने देखिएको छ ।


































Discussion about this post