सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठनको तयारी तीव्र पारेको छ । आगामी चैत १३ गते सरकार गठन गर्ने लक्ष्यसहित पार्टीभित्र आन्तरिक छलफल तीव्र बनाइएको स्रोतले जनाएको छ ।
पार्टी स्रोतका अनुसार वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार गठनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद् सचिवालय र निर्वाचन आयोगसँग आवश्यक समन्वय भइसकेको जनाइएको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरिएको छ । सोही दिन वा त्यसलगत्तै संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ ।
दलको नेतामा बालेन शाहलाई चयन गर्ने लगभग सहमति जुटिसकेको र चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेको बताइएको छ ।
नेपालको संविधानको धारा ७६ -१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार सरकार गठन प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ ।






























Discussion about this post