रामधुनी । नेकपा (एमाले) ले रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका पार्टी जिल्ला सदस्य केशव गौतमको निलम्बन फुकुवा गरेको छ ।
इनरुवामा शनिबार बसेको एमाले सुनसरी जिल्ला कमिटीको ११ औँ पूर्ण बैठकले छानविन समितिको निस्कर्षका आधारमा गौतमको निलम्बन फुकुवा गरेको हो ।
धरानको शुभकामना होटलमा परस्त्रीसँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेको बिषय सार्वजनिक भएपछि गौतममाथि छानविन गर्न गत मंसिर १४ गते पार्टी जिल्ला कमिटीको दशौँ पूर्ण बैठकले उपसचिव राम कोइरालाको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले ‘कसुर गरेको सम्बन्धमा ठोस प्रमाण फेला नपरेको तर परिस्थितिजन्य गतिबिधिमा केहि संदेह भने देखिएको’ निस्कर्ष निकालेको थियो । सोहि निस्कर्षका आधारमा बैठकले गौतमलाई ‘महिलासँगको सम्बन्ध र गरिने व्यवहारमा सतर्कता अपनाउन निर्देशनसहित सचेत गराउने’ निर्णय गर्दै निलम्बन फुकुवा गरेको हो ।

पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको भए पनि वडा अध्यक्षको रुपमा गौतमले यसअघि देखि नै काम गर्दै आएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत वडा अध्यक्ष निर्वाचित भएका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् ।