रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनमा विधानको व्यवस्थाविपरीत प्रतिनिधि राखिएको भन्दै देखिएको विवादमा केन्द्रीय सङ्गठन विभागले पत्राचार गरेको छ । कोसी प्रदेश कमिटी अध्यक्षलाई पत्राचार गर्दै विभागले जिल्ला अधिवेशनमा प्रतिनिधिको व्यवस्था बारे प्रष्ट पारेको हो ।
शनिवारदेखि इटहरीमा जारी अधिवेशनमा सुनसरी–काठमाडौँ सम्पर्क मञ्चबाट प्रतिनिधि छनौट भएपछि अध्यक्षका दावेदार खेमराज पोखरेल, उपाध्यक्षका दावेदार नन्द कुमार बस्नेत लगायतले विधानको व्यवस्थाविपरीत भएको भन्दै उजुरी दिएका थिए ।
सोही विषयमा विभागले सम्पर्क मञ्चबाट प्रतिनिधित्व गर्ने वैधानिक व्यवस्था नभएको पत्रमा उल्लेख गरेको छ । पत्रमा भनिएको छ, ‘कोसी सम्पर्क समन्वय कमिटीको मातहतमा रहेको काठमाडौँ उपत्यका भित्र क्रियाशील जिल्ला सम्पर्क मञ्चको तर्फबाट सुनसरी जिल्ला अधिवेशनमा औपचारिक प्रतिनिधित्व गर्ने वैधानिक व्यवस्था नभएको ब्यहोरा जानकारी गराइन्छ ।’
वर्तमान जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारी लगायतले पोखरेल समूहलाई पराजित गराउने मनसायले विधानविपरीत प्रतिनिधि छनौट गरिएको आरोप छ ।



































Discussion about this post