रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनसरी आएका छन् । आज सुनसरीका विभिन्न ठाउँमा जनभेटघाट तथा खबरदारी सभाहरुलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सुनसरी आएका हुन् ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत प्रचण्डसहित केन्द्रीय पदाधिकारी टिम नै यतिबेला हुलाकी मार्ग केन्द्रित अभियानमा छन् । फागुन १२ गते झापाबाट सुरु भएको अभियान मोरङ हुँदै आज सुनसरी आइपुगेको हो ।
प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नी सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उप–महासचिवहरु गिरीराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, मात्रिका यादव, शक्ति बस्नेतलगायत नेताहरु सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले जानकारी दिए ।

आज सुनसरीका विभिन्न ठाउँमा प्रचण्ड सहभागी हुने कार्यक्रम तयारी भएका छन् । हिजै बेलुका इटहरी आएका प्रचण्ड विहानै मर्निङ वाक गरेर विभिन्न कार्यक्रममा निस्किएका छन् । ‘इटहरीमा मर्निङ वाकपछि उहाँ बर्जु गाउँपालिका आउनुभएको छ । त्यसपछि देवानगंञ्ज, हरिनगरा जानुहुन्छ ।’ बरालले भने, ‘गढी गाउँपालिकामा खबरदारी सभालाई सम्बोधन गर्ने, इनरुवा नगर कमिटीको अधिवेशन उद्घाटन गर्ने, भोक्राहा, कोशीमा जनभेटघाट लगायत कार्यक्रम पनि अध्यक्ष कमरेडका छन् । साँझ मधुवनमा खाना खाएर उहाँलाई विदा गर्ने योजना छ ।’
पुस २३ गते सम्पन्न माओवादी केन्द्रीय कमिटीको बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा फागुन १२ गते झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिने जनाइएको छ । सुशासन, सामाजिक न्याय, संविधानको रक्षा तथा समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका निमित्त जागरण अभियान चलाइएको माओवादी नेताहरुले दावी गरेका छन् ।

































Discussion about this post