रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–१ मा ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बन्ने प्रतिष्ठानको भवन विहिबार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सह–इन्चार्ज सावित्री कुमार काफ्ले ‘समर’ ले शिलान्यास गरेका छन् ।
सरकारको शहरी विकास मन्त्रालयले प्रतिष्ठान निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । टेन्डर प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको जिम्मा पाएको छ । प्रतिष्ठानको केन्द्रीय अध्यक्ष माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ हुन् । देशभर सातओटा शाखा विस्तार गर्ने योजनाअनुरूप सुनसरीमा कोशी प्रदेशको शाखा निर्माण हुन लागेको माओवादी केन्द्रीय सदस्य रामकुमारी चौधरीले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंको बूढानीलकण्ठमा रहेको छ भने धनुषा, नुवाकोट, दाङ, तनहुँ, सुर्खेत, कैलालीमा शाखाहरू स्थापना भइसकेका छन् । कोशी प्रदेश शाखाको रुपमा रामधुनीमा भवन बन्न लागेको हो । शाखाको अध्यक्ष पूर्व संविधान सभा सदस्यसमेत रहेका पार्टी प्रदेश कमिटीका सदस्य सन्तोष थारु रहेका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटी नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती थिए । नुवाकोटका स्थायी बासिन्दा बोगटी माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियासम्म पार्टीका निर्णायक तहमा रहे । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित उनी ऊर्जा, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भूमिकामा रहेका थिए । २०७१ साल भदौ ३० गते हृदयघातका कारण ६१ वर्षको उमेरमा उनको निधन भएको थियो ।
प्रतिष्ठानले स्वास्थ्य, शिक्षा, कृषि र खेलकुदलगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । भवन निर्माणपश्चात् सुनसरीमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने लक्ष्य रहेको प्रतिष्ठानका केन्द्रीय सदस्य चौधरीले जानकारी दिइन् । प्रतिष्ठानको स्थापनासँगै प्राविधिक शिक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
































Discussion about this post