रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा ४८ जना क्षयरोगीलाई पोषणका लागि अण्डा वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले प्रत्येक विरामीलाई एक–एक क्रेट अण्डा वितरण गरेको हो ।
चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्म रामधुनीमा हाल ५७ जना क्षयरोगका विरामी उपचारको दायरामा आएका छन् । त्यसमध्ये विपन्न विरामीलाई छनौट गरेर अण्डा वितरण गरिएको हो । विरामीलाई पोषणयुक्त खानेकुरा खुवाएर उपचारमा सक्रिय बनाउन र गाउँघरमा लुकेका बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।
कार्यक्रममा उपप्रमुख तारा थापाले स्वास्थ्यका सबै पक्षमा सहयोगको महत्व औंल्याउँदै क्षयरोगका विरामीलाई निःशुल्क उपचारको लाभ लिन स्वास्थ्य संस्थासम्म पुर्याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । सरुवा रोग भएकाले क्षयरोगीले उपचार नगरि घरमै बसेमा अरुलाई सर्ने सम्भावना हुने भएकाले सबै मिलेर बिरामीलाई उपचारमा ल्याउनुपर्ने थापाको भनाई छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरू, विरामी, कर्मचारी र जनप्रतिनिधिलगायतको उपस्थितिमा रहेको थियो । नगरपालिकाका अनुसार अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा रामधुनीमा ७८ जना क्षयरोगका विरामी थिए ।

































Discussion about this post