रामधुनी । रामधुनी नगरपालिकाका पूर्व नगर प्रमुख जयप्रकाश चौधरीको घरसहित लगभग ८ कट्टा जमिन ‘गाउँ ब्लक जग्गा’ मा पर्दछ । रामधुनी–९ मर्चैया घर भएका चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा रामधुनीको नगर प्रमुख निर्वाचित भएका थिए । २०२९ सालमा तत्कालीन डुम्राहा गाविसको प्रधानपञ्च हुदाँदेखि नै उनी आफ्नो गाउँको जग्गाको समस्याबारे जानकार छन् ।
लामो समयदेखि भोगचलन गरिरहेको आफ्नै जग्गामा कानुनी स्वामित्व नहुँदा आफुसहित सिंगो बस्तिले विभिन्न सास्ती झेल्नु परेको चौधरी बताउँछन् । उनले भने, ‘जग्गा एकिन नहुँदा कसैको पनि साँध क्लियर नहुँने, सिमानाका नाममा झै–झगडा हुने गरेको छ । अंशवण्डा गर्नुपर्दा पुर्जा हुँदैन । बैकिङ् कारोबार नहुँदा समस्या छ । व्यवसाय गर्न लोन नभई हुँदैन । पुर्जा नभएपछि न त जग्गा विक्री गर्न नै सकिन्छ ।’
त्यस्तै मर्चैयाकै धिरेन्द्रकुमार चौधरीको घरसहित एक कठ्ठा जग्गा गाउँ ब्लकमा पर्दछ । जग्गाको आधिकारीक स्वामित्व नहुँदा सीमानाको समस्या बेलाबेलामा झेल्नु परेको उनले बताए । करिब ४ बर्ष अगाडि नापी भएको भए पनि त्यसपछिका प्रकृयाका बारेमा आफु अनविज्ञ रहेको उनी बताउँछन् ।
जयप्रकाश र धिरेन्द्रको जस्तै समस्या छ, मर्चैयाकै आशा चौधरीको पनि । उनको ४ कठ्ठा दश धुर जग्गा गाउँ ब्लकमा पर्दछ । उनका ससुराले २०४७ सालमा चाडैँ धनीपुर्जा पाइहाल्ने आशामा उक्त जग्गा किनेका थिए । तर किनेकै ३४ बर्षसम्म कुर्दा पनि पुर्जा प्राप्त भएको छैन । कुर्दाकुर्दा आशालाई कहिलेकाही आफ्नै जग्गा पराइको जस्तो लाग्छ । उनी भन्छिन्, ‘धेरैको यस्तै समस्या छ हाम्रोतिर । सबैको आउँदा हाम्रो पनि आउला ! स्वामित्व नहुँदा कहिलेकाही आफ्नै जग्गा पराइको जस्तो लाग्छ ।’
रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरीका अनुसार वडाका मर्चैयासहित, सितपुर, धुराहालगायत ठाउँमा गरेर करिब १२ विघा हाराहारीमा ब्लक जग्गा रहेको छ । ब्लक जग्गामध्ये सितपुरका ३० घरले भने चाँडै धनिपुर्जा पाउँने अध्यक्ष चौधरीले बताए । ‘वडामा धेरैजनाको समस्या भए पनि ३० घरको काम चै नाँपजाँच सकिएको छ । त्यति घरले चाँडै धनिपुर्जा पाउँछन् ।’
उता भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख षड कुमार पोखरेल जिल्लाका विभिन्न ठाउँमा ब्लक जग्गाको समस्या समाधान भएको र कतिपय ठाउँमा समस्या अझै रहेको बताउँछन् । पुर्जा पाइसकेका व्यक्तिहरुको तथ्यांक मात्रै मालपोतमा हुने तर पाउँन बाँकीहरुको विवरण आफुसँग नभएको उनको भनाई छ । उनले भने, ‘हाम्रो अफिसमा पुर्जा पाएकाहरुको मात्रै विवरण आउँछ । ब्लक जग्गाको समस्या कहाँकहाँ छ के भइरहेको छ भन्ने कुरा चै स्थानीय तह र नापीसँग हुनसक्छ ।’
गाउँ ब्लकको जग्गाका कारण व्यक्तिहरुलाई मात्रै होइन सरकारलाई पनि घाटा भइरहेको छ । ब्लक जग्गाको कारोबार नहुँने र राजश्व नआउँने भएकाले सरकार र नागरिक दुवैका लागि ब्लक जग्गा समस्याको बिषय भएको मालपोत कार्यालय सुनसरीको भनाई छ ।































Discussion about this post