रामधुनी । रामधुनी नगरपालिकामा निर्माण सम्पन्न ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ अब नियमित सञ्चालनमा आएको छ । शनिबार आयोजित समारोहमा संघीय खानेपानी मन्त्री प्रदीप यादवले आयोजनाको औपचारिक उद्घाटन गरे ।
आयोजनाको सम्पन्नतासँगै रामधुनी नगरपालिका–१, २, ३ र ५ का ४ हजार ३१ घरधुरीका करिब २२ हजार ७८७ नागरिकले प्रत्यक्ष रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुविधा पाउने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, इटहरीका प्रमुख महेसी महतोले बताए ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न उक्त आयोजना सहरी खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष, रामधुनी नगरपालिका र उपभोक्ता समितिको सहकार्यमा निर्माण गरिएको हो । उपभोक्ता समिति अध्यक्ष केशिलाल चौधरीले आयोजनाबाट स्थानीयको वर्षौंदेखिको सुरक्षित पानीको अपेक्षा पूरा भएको बताए ।
उद्घाटन समारोहमा मन्त्री यादवले पानीलाई जनस्वास्थ्य, सामाजिक न्याय र विकाससँग जोड्दै सरकारले गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताए । आयोजना निर्माणमा हालसम्म करिब ४० करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको र बाँकी लागत थपिने अनुमान गरिएको छ ।
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापालगायतको उपस्थिति रहेको थियो ।

































Discussion about this post