रामधुनी । रामधुनी नगरपालिकाभित्रका विद्यालयबाट यस वर्ष कक्षा १२ उत्र्तिण भएका विद्यार्थीलाई भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसले बधाई तथा सम्मान गर्दै स्नातक तहको अध्ययन भासी क्याम्पसबाट सुरु गर्न आग्रह गरेको छ । नगरभित्र स्नातक तहसम्म अध्ययनको सुविधा दिने एक मात्र क्याम्पसले मंगलबार विशेष कार्यक्रमको आयोजना गर्दै यो सन्देश दिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख तारा थापा, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नारायण प्रसाद काफ्ले, नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकलगायत शिक्षासँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई खादा, माला र अविर अर्पण गर्दै उपाध्यक्ष काफ्ले, उपप्रमुख थापालगायतले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
विगतमा आफ्नै भवन नहुँदा विद्यालयको कक्षाकोठामा अध्ययन सञ्चालन गर्दै आएको भासी क्याम्पसले यस वर्षको साउन १ गतेदेखि नयाँ भवनबाट पढाइ सुरु गरेको हो । वडा नं. ३ मा करिब १० कट्टा क्षेत्रफलमा निर्मित क्याम्पसमा दुईओटा पक्की भवनमा १७ ओटा कक्षाकोठा, व्यवस्थित पुस्तकालय, शौचालय र खेलमैदान उपलब्ध रहेको क्याम्पस प्रमुख श्याम कुमार चौधरीले बताए ।
नगर उपप्रमुख थापाका अनुसार, क्याम्पसको भौतिक संरचना र शैक्षिक व्यवस्थापनमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ । प्रत्येक वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरिँदै आएकोमा चालु आर्थिक वर्ष क्याम्पसका लागि बस खरिदको व्यवस्थासमेत गरिएको उनले बताइन् । थापाले व्यवस्थान र शिक्षाशास्त्र संकाय भासीमै उपलब्ध भएकाले बाहिरका क्याम्पसमा धाउनुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै भासीलाई नै ‘रोजाइको क्याम्पस’ बनाउन विद्यार्थीलाई आग्रहसमेत गरिन् ।
त्यस्तै, सञ्चालक समितिका उपाध्यक्ष काफ्लेले भासी क्याम्पसको शैक्षिक गुणस्तर निरन्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विद्यार्थीको सहभागिताले मात्र यहाँको शैक्षिक वातावरण अझ सबल हुने विश्वास व्यक्त गरे ।



































Discussion about this post