इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि करिब ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
शनिबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ र नगरका १० ओटै वडाबाट ५० हजार रुपैयाँका दरले थप ५ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता सुमन थापाले जानकारी दिए ।
त्यस्तै, नगरप्रमुख केदार भण्डारीसहित सबै जनप्रतिनिधिले एक महिनाको सेवा–सुविधाबापतको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत निजामती कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले तहअनुसार तीनदेखि १० दिनसम्मको तलब सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको थापाले बताए ।
नगरपालिकाको निर्णयअनुसार विभिन्न शीर्षकबाट संकलन हुने रकम जोड्दा करिब ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने उनले बताए ।



































Discussion about this post