- शिशिर भट्टराई
रामधुनी मन्दिर सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारदेखि करिब ७ किलोमिटर पश्चिममा अवस्थित छ । मन्दिर आसापास बन क्षेत्र छ । करिब ३१०० विगाहा क्षेत्रफलमा फैलिएको बनको बिचैमा यो मन्दिर अवस्थित छ । यस बनका बिचमा धुनी बालेर राखिने भएकाले यसलाई धुनिबन भन्ने गरिन्छ ।
यो क्षेत्र रामधुनी नगरपालिकाको वडा नं. ४ मा पर्दछ । यहि मन्दिरको नामबाट नै यहाँको नगरपालिकाको नाम रामधुनी नगरपालिका राखिएको हो । यस बनको बिचबाट सुनसरी खोला बग्ने गरेको छ । त्यहि सुनसरी खोलाको पूर्वि तटमा रामधुनी मन्दिर अवस्थित छ । रामधुनी मन्दिरमा देव प्रतिमाहरुका बदलामा एउटा साझँको मुढा जलाएर राखिएको छ । यहाँ पुजा–आजा हुने मुख्य बस्तु पनि त्यहि नै हो । त्यहि साझँको मुढा जलेको खरानीलाई यो मन्दिरको प्रसादको रुपमा प्रयोग गरिन्छ ।
रामधुनी मन्दिर भगवान रामसँग जोडिने गर्दछ । यस मन्दिरलाई किन रामधुनी भनियो भन्ने सन्दर्भमा विभिन्न तर्कहरु गर्ने गरिन्छ । धुनीको अर्थ साधुसन्यासीले ताप्नका लागि बाल्ने आगो भन्ने हुन्छ । त्यहि सदाबहार बलिरहने आगो तथा अगेनोलाई बोलिचालीको भाषामा धुनी भन्ने गरिन्छ । रामधुनीको नामाकरणका सन्दर्भमा बुझ्नका लागि त्रेतायुगसम्म पुग्नुपर्ने हुन्छ । अयोध्याका राजकुमार राम र लक्ष्मण त्रेतायुगमा बनबासका क्रममा यस स्थानमा आइ एक दिन धुनी तापेर बसेको हुनाले यो क्षेत्रलाई रामधुनी भनिएको विश्वास गरिन्छ ।
यो क्षेत्रमा राम र लक्ष्मण किन आए भन्ने जिज्ञासा धेरैको हुन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक बिषयबस्तुका अध्यता प्रा.डा. सोमप्रसाद खतिवडाले २०७४ सालमा यो मन्दिर र यो क्षेत्रका बारेमा आफ्नो पुस्तक ‘रामधुनी’मा उल्लेख गरे अनुसार त्रेता युगमा विश्वामित्रको आग्रहमा उनीहरु रामधुनी आएको तथ्य उल्लेख गरेका छन् ।
उनका अनुसार कोशी नदि बेलाबेलामा बाटो फेर्ने हुँदा रामधुनी मन्दिर नजिकै करिब २०० मिटर पर अहिले सुनसरी खोला भएको स्थानबाट कोशीको एउटा भंगालो बग्ने गर्दथ्र्यो । यो क्षेत्र ऋषिहरुको तपोभूमि थियो । त्रेता युगमा त्यहि कौशीक नदिको किनारी भागमा तपस्या गरेर बसेका बिश्वामित्र लगायतका ऋषिहरुलाई तपस्या गर्ने क्रममा दानवहरुले निकै दुःख दिएपछि विश्वामित्रकै अनुरोधमा राम र लक्ष्मण यो क्षेत्रमा आएको र तपस्या गरेर बसेका ऋषिहरुलाई दुःख दिने दानवहरुको बध गरेपछि पुनः अयोध्यातिर फर्कने क्रममा एक रात अहिलेको रामधुनी मन्दिर क्षेत्रमा बसेको जनविश्वास रहेको छ ।
रामधुनीको पुनर्कायाकल्प गर्ने काम वनखण्डीबाबाले गरेको मानिन्छ । विभिन्न पुस्तक र लेखहरुमा उल्लेख गरिएअनुसार वि.सं. १७६० को आसपास योग साधनाका लागि यहाँ धुनी जगाएको विवरण पाइन्छ । उदासीन सम्प्रदायमा वनखण्डी नामधारी सन्यासीहरू हुन्छन्, जसलाई वनखण्डीबाबा भन्ने गरिन्छ ।
वनखण्डीबाबा कुनै एकमात्र सन्यासी होइनन्, उदासीन सम्प्रदायका सन्यासीहरूलाई वनखण्डी भन्ने गरिन्छ । वनखण्डी बाबाले वि.सं. १७६० तिर रामधुनीको पुनर्कायाकल्प गरेको भन्ने गरिन्छ । भगवान रामले त्रेत्रायुगमा यस क्षेत्रमा आएर धुनी बालेको भए पनि बनखण्डी बाबाले त्यसलाई योग साधनाका लागि कायाकल्प गरेपछि नै यहाँ पुनः धुनी जगाउन थालिएको हो ।
वनखण्डीबाबा को हुन् ? कहाँबाट आए र किन धुनी जगाए भन्ने कुरा धेरैको जिज्ञाशाको बिषय हो । प्रा.डा.सोम प्रसाद खतिवडाले रामधुनी पुस्तकमा लेखे अनुसार र यो मन्दिरका बारेमा जानकार स्थानीयका अनुसार यो क्षेत्रमा भगवान राम आउनुअघि अनुसूयाले लामो समयसम्म धुनी जगाएर तप गरेकी रहिछन् । भगवान राम यो क्षेत्रमा आउँदा अनुसूयाले तपस्या गरेकै स्थानमा एक रात बास बसे र त्यहाँ बस्दा उनले मुनी भेषमा धुनी तापेर बसे । उनी अयोध्या फर्कने क्रममा आफुले तापेको धुनी जमिनमुनी गाडेर गए । रामले जमिनमुनी गाडेको धुनी पत्ता लगायर त्यसै स्थानमा बसी पुनः बनखण्डी बाबाले रामले जलाएको धुनीलाई पुनर्कायाकल्प गरेको उल्लेख गरिएको छ । उदासीहरुका अनुसार बनखण्डीबाबा नभएको भए यस्तो ऐतिहासिक क्षेत्र आज पत्ता नलाग्न पनि सक्थ्यो ।
रामधुनीका बारेमा लेखिएका विभिन्न लेख रचनाहरु हेर्दा बनखण्डीबाबाको जन्म पाँचथर जिल्लामा भएको भनिएको छ । उनको परिवार त्यहाँबाट बसाई सरेर विभिन्न ठाउँमा जाने क्रममा दार्जेलिङ् पुगे । त्यसपछि उनको परिवार बर्मा पुगेको र त्यहाँबाट पुनः भारतको मेघालय भन्ने ठाउँमा सरेको भनिन्छ । त्यो बेलासम्म बनखण्डीबाबा जवान भइसकेका थिए । उनी विभिन्न ठाउँमा घुम्न थाले र त्यहि क्रममा हालको बंगलादेशको राजधानी ढाकामा गुरु नत्थाशाहबाट उदासीन शिक्षा लिएको भनिन्छ । त्यसपछि उनी आफ्नै जन्मभूमितिर फर्किएर धुनीवनमा आइपुगे । उनी यहि ठाउमा योग साधनामा लागे र विं.स. १७६० सालमा त्यहि साधनाको क्रममा भगवान रामले तापेको भनिएको धुनी बनखण्डीबाबाले पुनः सल्काएर यो ठाउँ पत्ता लगाएको बताइन्छ । यहाँका महन्त अहिले पनि उदासी सम्प्रदायकै छन् ।
यो मन्दिर कोशी नदिको पूर्वि किनारी भागमा पर्दछ । अहिले करिब २०० मिटरको दुरीमा बग्ने सुनसरी खोलाको क्षेत्रलाई नै पहिला कोशी नदिको पूर्वि किनार मानिन्थ्यो । हालको रामधुनी भेग ऋषिमुनीहरुको तपस्थलीको रुपमा लिने गरिन्छ । पहिला मोरंग एरियामा ठूलो झाडी भएकाले पनि भारतबाट बराहक्षेत्रतिर जानेहरु कोशी नदिको किनारी भाग हुदै रामधुनीको बाटो जाने गर्दथे भनिन्छ ।
कोशी नदीप्रति हिन्दूहरूमा आध्यात्मिक लगाव छ । कोशी किनार ऋषिमुनिहरूको तपोभूमिका रूपमा स्थापित थियो । धुनीवन पनि ऋषिमुनिहरूको तपोवन थियो । कोशी किनारका वराहक्षेत्र, चतरा, धुनीवन लगायतका कोशी नदी गंगामा मिसिने स्थानहरू तपोभूमि रहेको विभिन्न ऐतिहासिक ग्रन्थमा पाइन्छ ।
कोशी नदिले बेला बेलामा धार परिवर्तन गर्दै जाने क्रममा थुप्रै स्थान मासिए, तर धुनीवन र यो मन्दिर क्षेत्र सुरक्षित छ । यस स्थानमा पौराणिक कालदेखि नै ऋषिमुनि र साधुसन्तहरू धुनी जगाएर तथा तप गरेर बसेका थिए भन्ने कुरा विभिन्न ऐतिहासिक तथ्यहरुले पनि पुष्टि गरेको देखिन्छ ।
रामधुनीको नजिकै कोशीटप्पु वन्यजन्तु आरक्ष, प्रकाशपुर, राजावास, मधुवन, चतरा र बराहक्षेत्र जस्ता प्रख्यात स्थान छन् । धरानको पिण्डेश्वर महादेवस्थान पनि रामधुनीबाट त्यति टाढा छैन । पिण्डेश्वर महादेवस्थानसँग यस मन्दिरको आत्मीय र निकै गहिरो सम्बन्ध छ । रामधुनीमा बालिएको अखण्ड दीप यदि निभ्यो भने पिण्डेश्वरको अखण्ड दीपबाट आगो ल्याएर बाल्ने र पिण्डेश्वरको दीप निभ्यो भने रामधुनीको आगो लगेर बाल्ने प्रचलन रहेको छ । यसकारण पनि यो क्षेत्र धार्मिक तथा अन्य पर्यटकिय हिसाबले निकै संभावना बोकेको स्थलका रुपमा लिन सकिन्छ ।
यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको निकै बाक्लो उपस्थिति रहने गरेको छ । जंगलको बिचमा रहेकाले यो क्षेत्रमा धार्मिक हिसाबले बाहेक पिकनिक खान र घुम्न समेत मान्छेहरु आउने गरेका छन् । धार्मिक स्थल भएकाले धर्मप्रति आस्थावान मानिसहरु यहाँ आउनु कुनै नौलो बिषय होइन ।
आन्तरिक पर्यटक मात्रै होइन । विभिन्न मेला र पर्वहरुको अवसरमा भारत, भुटान र बंगलादेशसम्मका पर्यटकहरु समेत यहाँ आउँछन् । यहाँ रामनवमी र बाला चतुर्दर्शीमा बिषेश मेला लाग्ने गरेको छ । रामनवमी त यो मन्दिरको ऐतिहासिकतासँग समेत जोडिएको बिषय हो । रामनवमीको अवसरमा विं.स. २०३९ सालपछि मेला लाउन सुरु गरेको पाइन्छ । यी मेलाहरुमा नेपालका विभिन्न ठाउँ, भारत, भुटान र बंगलादेशका तिर्थालुहरु आउने गरेको पाइन्छ ।
रामधुनीको मुख्य केन्द्रविन्दु भनेको यहाँको धुनी मन्दिर हो । शिखर शैलीसँग केहि मिल्दोजुल्दो सामान्य ढंगको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर विं.स. २०४५ सालमा अहिलेको मोडलमा निर्माण गरिएको हो । त्यसभन्दा अगाडि यहाँ टिनको छानाबाट निर्माण गरिएको सामान्य मन्दिर थियो ।
यहाँका प्रमुख पुरातात्विक वस्तुहरूमा धुनीमन्दिर, कन्नाघर, दरबार मन्दिर, महन्त निवास, चन्द्र मन्दिर, धर्मशाला, गौशाला, धुनी दरबार, वनखण्डी दरबार, कमण्डलु कुण्ड, तपश्वी स्थल, हनुमान दरबार, राम दरबार, राधाकृष्ण दरबार, शनि दरबार, शिवालय, गंगामाता दरबार, वनखण्डी झौरा दरबार, जगतगुरु श्री चन्द्र भगवानको दरबार, निर्माण गुरु प्रितम दासजीको दरबार, दुर्गा माता दरबार, अष्ट चिरञ्जीवीको मन्दिर, गोपाल मुनि महाराज आश्रम, काशी दास उदासी आश्रम, श्रीयन्त्र, जाँतो, रथको पांग्रा, तुलसी मठ, मुक्ति घाट, धर्मध्वजा साहेब, ऐतिहासिक इनार आदि हुन् ।
यहाँको मुख्य मन्दिरको उत्तरतिर गोलो आकारको पुरानो पोखरी छ, जसलाई कमण्डलु कुण्ड र सिता कुण्ड पनि भनिन्छ । यस कुण्डका बारेमा दुइथरी तर्क रहेको पाइन्छ । एकथरिले भगवान राम यहाँ आउँदा सिताले नुहाउँनका लागि उक्त पोखरी निर्माण गरिएको भनेको पाइन्छ भने अर्को थरिले बनखण्डीबाबाले कमण्डलु राख्दा बनेको पोखरी समेत भन्छन् । पुरातात्विक, ऐतिहासिक एवम् सांस्कृतिक दृष्टिले यो पोखरी ज्यादै महत्वपूर्ण छ । यसले मन्दिरको शुन्दरतालाई समेत थप सहयोग गरेको छ ।
रामधुनीमा अन्य धार्मिक स्थलमा जस्तै प्रशस्त बाँदर र परेवाहरु समेत रहेका छन् । गौशालामा प्रशस्त गाइहरु रहेका छन् । जंगल चरेका गाइहरुको गहुँतबाट औषधीसमेत बनाइने गरेको छ ।
निष्कर्षमा, हामी सत्ययुग, त्रेता युग, द्वापर युग हुँदै कलि युगमा आइपुगेका छौँ । प्रत्यक युगका आफ्नै र निकै मौलिक बिषेशता र महत्वहरु पनि छन् । विभिन्न युगको आफ्नै महत्व र युगविशेषका बेग्लै घटना छन् । हाम्रै क्षेत्रमा त्रेता युगसम्मको कथा बोकेको प्राचिन र ऐतिहासिक धरोहरको रूपमा स्थापित, ऋषिमुनिहरूको तपोभूमिका रुपमा देश विदेशमा चिनिएको गौरवपूर्ण मन्दिर छ । यो मन्दिरको संरक्षण, यसको ऐतिहासिकताको अझ धेरै खोजी र प्रचार–प्रसार गर्नु हामी सबैको अहिले दायित्व हो ।
हाल यहाँको नगरपालिकाले यो मन्दिरको बिकास र प्रचार प्रचासका लागि विभिन्न कामहरु गरिरहेको देख्न सकिन्छ । यो मन्दिरलाई थप व्यवस्थित बनाउनका लागि हाल सालै डिपिआर गरेर त्यस अनुसार कामहरु गर्ने योजना समेत नगरपालिकाको रहेको छ । रामधुनी लगायत सुनसरीका अन्य पर्यटकिय स्थललाई एक आपसमा जोडनका लागि धरान उपमहानगरका मेयर, बराहक्षेत्र नगरपालिकाका मेयर र रामधुनी नगरपालिकाका मेयरका बीचमा संयुक्त पहल गर्ने समेत निर्णय भइसकेको छ ।
बिषेशत यहाँको समुदाय, स्थानीय सरकार, प्रदेश र संघीय सरकालेसमेत यो मन्दिरको ऐतिहासिकतालाई ध्यानमा राखेर यो क्षेत्रलाई बिषेश प्राथमिकताका साथ धार्मिक र पर्यटकिय हिसावले अगाडि बढाउदै यो क्षेत्रको बिकास र संरक्षणमा बिषेश पहल गर्नु जरुरी छ ।


































Discussion about this post