- कौशल ढुंगाना
नेपाल जस्तो रोजगारीको पर्याप्त अवसर नभएको देशमा प्रायः धेरै जसो मानिसहरुको सपना हुन्छ– सरकारी जागिरे बन्ने ! आजको यो प्रतिस्पर्धात्मक वातावरणलाई आफू अनुकुल बनाउदै सरकारी जागिरे बन्न त्यति सहज भने पक्कै पनि छैन । दिनरातको मेहनत र परिश्रमको बाबजुद सरकारी जागिरे बनिन्छ भन्ने उदाहरण जो कोहिमा लागू नहुन पनि सक्छ । तर, आफ्नो मेहनत, लगनशीलता, भाग्य, नबिनतम ज्ञानको बिकासले गर्दा सरकारी जागिरे जिन्दगी जिउँन सफल भइन्छ भन्ने उदाहरण आज ममा लागू भएको छ ।
म अहिले २८ बर्षको भए । सानै उमेरदेखि चन्चले स्वभावको म घरको एक्लो छोरो भएकै कारणले गर्दा सरकारी जागिर अथवा भनौं कि अन्य कुनै जागिर खानैपर्छ भन्ने हुटहुटी कहिल्यै पनि आएन । स्कुले जिवनमा के बन्छस् भनेर गुरुहरुले प्रश्न गर्दा सबै साथिहरुको लहैलहैमा ‘डाक्टर बन्ने र विरामीको सेवा गर्ने’ भनी उत्तर फर्काउँथे । कक्षाको दोश्रो विद्यार्थीको रुपमा गनिने म एसएलसीमा राम्रै प्रतिशत ल्याई पास भए र अब कुन बिषय लिएर पढ्ने भनेर आफुमा अन्यौलता छाउदै गर्दा घरमा बिज्ञान बिषय लिएर पढ्नू भनी सुझाव आयो । बिज्ञान बिषय लिएपछि दिनरात पढ्नुपर्ने र घुम्न नपाइने ममा गलत सोच भएको कारणले गर्दा ब्यबस्थापन बिषय लिएर पढ्ने निधो गरे । जसो तसो प्लस टु र स्नातकमा प्रथम श्रेणीमा उत्तीर्ण भए र अब ममा फेरी के बन्ने प्रश्न उब्जिन थाल्यो । छरछिमेक अनि आफन्तले गिज्यान थाले र ममा नकारात्मक भावनाको बिकास हुँदै गयो । तर, यो उब्जिन थालेको नकारात्मक भावनालाई मैले सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भनी निधो गरे । भनिन्छ नि, बीस बिनाको सर्प अनि इख बिनाको मान्छेको काम छैन । हो, यहि उखानलाई अङ्गाल्दै सरकारी जागिरे बन्छु भन्ने अठोट लिए ।
पूर्व प्रमेकाले सरकारी जागिर नभएर छाडेर गएको दिनलाई अझै मेरो मस्तिष्कले सम्झिरहेको छ । छरछिमेकदेखि लिएर आफ्नै आफन्तहरुबाट केहि गर्न सक्दैनस भनेर आफुलाई प्रत्यक्ष भन्दा म बिचलित हुन्थें । तर, फेरि आफुलाई सम्हालेर अघि बढ्ने प्रयास गर्थें ।
बि.सं. २०७५ सालबाट मैले सरकारी जागिर प्रवेश गर्नका लागि बैकिङ क्षेत्रलाई रोजे । पहिलो परिक्षाको रुपमा राष्ट्रिय बाणिज्य बैंकको दिए तर म सफल भने भइनँ । पटक–पटक परिक्षा दिए, तर अहँ म सफल भइनँ । असफल हुँदै गर्दा म कहिलेकाहीँ निराश हुन्थेँ । तर, मैले ममा उब्जिएको त्यो निराशाको भावनालाई आफ्नो बुवा–आमाको लागि भए पनि केही गर्नुपर्छ भनेर अझ बढि लगनशील, मेहनती अनि परिश्रमी भई अध्ययनतर्फ निरन्तरता दिए । अझै ती रातहरुको सम्झना आउँछ, जहाँ म कयौँ रात ओछ्यानमा आफ्नो भबिष्य सम्झेर रुने गर्थें । भबिष्यको चिन्ता, पिर नलिने म अब भने परिवार अनि आफ्नो लागि राम्रो बाटोको खोजिमा लम्किदै थिए ।
धेरै परिक्षा दिए, धेरै पटक काठमाडौ, धनकुटा, जनकपुर धाए । तर, कहिल्यै पनि सफल हुन सकिन । दिन सबैको आउँछ भन्ने सुनेको थिए, ठीक त्यहि कुरा ममा लागू भयो । अन्ततः कृषि बिकास बैंक लिमिटेडको लिखितमा सफल भए । तर, दुर्भाग्य भनौं मौखिक परिक्षा पछिको अन्तिम नतिजामा वैकल्पिकमा परे । ठिक २ महिनापछि कृषि बिकास बैंक लिमिटेडबाट वैकल्पिक सिफारिस भएर ओखलढुंगा जिल्लाको घोराखोरी शाखामा पदस्थापन भए । घरबाट कहिले टाढा नगएको म त्यति पर जानुपर्दा आत्तिन थाले । जसोतसो जागिर खानुछ, त्यहि अठोट लिएर म घोराखोरी तिर बाटो लागे । भगवान् दाहिने भए भने कसैको केहि लाग्दैन भन्थे हो रहेछ, राष्ट्रिय बाणिज्य बैंकको लिखित परिक्षा उत्तीर्ण भएर मौखिक परिक्षा पछिको अन्तिम नतिजामा म १ नम्बर सिफारिस हुन पुगे र आफ्नो गृह जिल्ला सुनसरीको इनरुवा शाखामा पदस्थापन भए । करिब २१,००० परिक्षार्थीलाई उछिन्दै म आज राष्ट्रिय बाणिज्य बैंक लिमिटेडमा कार्यरत छु र म आफ्नो कामप्रति सन्तुष्ट पनि छु ।
सरकारी जागिरप्रति मोह नभएको म आज सरकारी जागिरे हुन पाउँदा ज्यादै खुशी छु । गौरव गरिररहेको छु । आफ्नो भबिष्यसँगै मैले मेरो देशको पनि सेवा गर्न पाएको छु ।
(लेखक ढुंगाना हाल राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् ।)
































Discussion about this post