रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्यार्थीहरुले आफ्नो स्कुलमा खानेपानी, शौचालय लगायतको समस्या रहेको गुनासो गरेका छन् ।
सोमबार नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाईमा उपस्थित भादगाउँ सिनुवारी (भासी) माविमा अध्यनरत विद्यार्थी सन्त माया मगरले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा उनले भनिन्, ‘विद्यालयमा एउटा मात्रै कल छ, त्यहाँ कक्षा १ देखि १२ सम्म सञ्चालन हुन्छ । तीन घण्टिमा पानी खान जान दिनुहुन्छ, कलमा धेरै भिड हुन्छ । पानी खान पालो पर्खदा पर्खदै क्लास सुरु भइसकेको हुन्छ, आधा जति त क्लास नै छुटछ ।’

विद्यालयको शौचालय अव्यवस्थित रहेको, कतिपयमा चुकुलसमेत नरहेको, झ्यालहरुबाट कक्षाकोठामा पानी छिरेर किताब नै भिज्ने गरेको लगायत उनको गुनासो थियो ।
त्यस्तै, अर्का एक विद्यार्थीले विद्याययमा गेट नहुँदा विभिन्न सामानहरु हराउँने समस्या रहेकोले गेट निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नगरपालिकाका मेयर समक्ष विद्यार्थीहरुले यस्तो समस्याका कारण पढ्ने वातावरण असहज भएकोसमेत बताए ।
जवाफमा मेयर शंकरलाल चौधरीले प्रधानाध्यापकसँगको समन्वयमा ती समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।































Discussion about this post