बराहक्षेत्र । उत्पीडन र अन्यायको कोखबाट निस्किएका भोगाइहरू; कुनै कल्पनाशील कविले कथेका शब्दहरूभन्दा कता हो कता शक्तिशाली हुने रहेछन् ।
‘हामी मुसहरहरुले राजनीति गरेनौँ भने अरुले हामीमाथि राजनीति गर्दा रहेछन् ।’ लालदेव सदाले आफ्ना भोगाइहरू पोखे । क्रान्ति र विद्रोहका झिल्का मिसिएका स्वरहरू सुनाए ।
जात व्यवस्थाले पिँधमा पारिएका समुदायहरू वर्षौंदेखि थिचोमिचोमा छन्, अन्यायमा छन्, शोषणमा छन् भन्ने सत्यको बोध सानैबाट थियो, लालदेव सदाको मानसपटलमा । तर त्यसविरुद्ध लड्न ठ्याक्कै के गर्नुपर्छ भन्ने बुझ्न चाहिँ २५ वर्ष लाग्यो उनलाई । र, त्यसपछि सुरु भयो, नेकपा माओवादी केन्द्रबाट राजनीतिक यात्रा ।
‘मुसहरहरू माथि उक्लिनको लागि राजनीति नै गर्नुपर्ने रहेछ सर, आजभोलि म यहि भनेर मेरो समुदायलाई बुझाउँन थालेको छु ।’ लालदेव थोरै मुस्काए । उनका शब्दहरूले संकेत गरिरहेका थिए– राजनीतिबाट मात्रै उत्पीडितहरुको मुक्ति संभव छ । अहिले लालदेवले त्यसैको अनुभूति गरिरहेका छन् ।
कुनै एकजना व्यक्ति राज्यको कुनै पदमा पुगेर मात्रै धेरै परिवर्तनको आशा राख्न त नसकिएला । तर लालदेवका लागि भने यसले निकै अर्थ राख्छ । किनकि उनी दलित समुदाय अन्तर्गत पनि पिँधमा पारिएको मुसहर समुदायबाट वडा अध्यक्ष बनेका जनप्रतिनिधि हुन् । र, यो चानचुने सफलता पक्कै होइन ।
लालदेव सदा गत स्थानीय तह निर्वाचन २०७९ बाट सुनसरीको कोशी गाउँपालिका ७ नम्बर वडाको अध्यक्षमा निर्वाचित भए । निवर्तमान वडा अध्यक्ष प्रतिस्पर्धी उमेदवार हुनु, नेकपा एमाले, नेपाली कांग्रेसजस्ता शक्तिशाली पार्टीसँग प्रतिस्पर्धा हुनु लालदेवको लागि ठूलो चुनौती थियोे । तर पनि उनी निर्वाचित भए । अझ रोचक कुरा त केभने लालदेव मात्र २७ वर्षको उमेरमा वडा अध्यक्ष बने ।
आज लालदेव सदाका नाममा दुई महत्वपूर्ण कीर्तिमानहरू छन् । लालदेव नेपालभरिको मुसहर समुदायबाट कान्छो वडा अध्यक्ष हुन भने कोशी प्रदेशबाट लालदेवसहित दुई जनामात्र वडाअध्यक्ष बनेका छन् । २०७४ को निर्वाचनबाट मधेस प्रदेशमा एकजना मुसहर समुदायबाट वडाअध्यक्ष भएका थिए भने यसपाली (२०७९) मा लालदेव सदा र इटहरी १३ बाट चन्देश्वर सरदार वडाअध्यक्ष छन् ।
लालदेवले मात्र ११ कक्षासम्मको औपचारिक शिक्षा लिएका छन् । तर उनले नजिकबाट नेपाली समाजलाई अध्ययन गरेको उनको अभिव्यक्ति र व्यबहारबाट पुष्टि हुन्छ । हाम्रोशब्दको टिम उनलाई भेट्न हरिपुरस्थित उनकै कार्यालयमा पुग्यौँ । मधेसको चर्को घामबाट हायलकायल भएर पुगेका हामीलाई चिसो पानी र नरम व्यबहारले स्वागत गरे उनले ।
लालदेवको वडा अधिकांश मुसहर, मधेसी, मुस्लिम समुदायको बसोबास रहेको वडा रहेछ । वडा कार्यालयमा दैनिकजसो ठुलै भीड हुने गरेको वडा सदस्य किसनी भुजेलले बताइन् । यति हुँदैगर्दा पनि सेवाग्राहीसँग कुनै झर्कोफर्को गर्दैनन् लालदेव । सरल र मिजासिलो उनको स्वभावबाट सेवाग्राही वडाबासी पनि सन्तुष्ट रहेको नजिकबाट नियाल्ने मौका पायौं । कुरा गर्दै जाने क्रममा एउटा सिफारिस लिन आएकी ककनीदेवी यादवले भनिन्, ‘यसपालिको अध्यक्ष पहिलाको जस्तो ठूलो स्वर गरेर थर्काउनुहुन्न, छिट्टै काम गरिदिने खाल्को हुनुहुन्छ ।’
मानिसको वर्तमान व्यबहार, शैली र स्वभावलाई उसको बिगतले पनि प्रभाव पार्ने गर्दछ । आफू डेड वर्षको हुँदा बुबा गुमाएका लालदेवले १८ वर्षको हुँदै आमा गुमाए । त्यसपछि सुरु भयो, उनको जीवनको खास ‘काउनडाउन ।’ एकातर्फ परिवारको जिम्मेवारी उनको काँधमा आइलाग्यो भने अर्कोतर्फ आफ्नै जीवन अल्मलमा थियो । यसबीचमा उनले विवाह पनि गरे । यसमानेमा थुप्रै जिम्मेवारी उनीसँग थियो ।
१६/१७ वर्षे कलिलो उमेरमै उनी भारतको पञ्जाब गए, किनकि आर्थिक जिबिकोपार्जन गर्नु जो थियो । त्यसो त उनी सानैदेखि प्रहरी बन्न चाहन्थे । उनी भन्छन्, ‘प्रहरी बनेर देशको सेवा गर्ने मन थियो । तर जीवनले अर्कै मोड लियो ।’ केही समय पञ्जाबमा बसेपछि फेरि उनी गाउँ फर्किए । पन्जाबमा हुँदा ज्यामीसमेत गरेका लालदेवले गाउँ फर्केर किराना पसल खोले । सामान्य जीवनयापन जसोतसो हुन थाल्यो ।
विभेदकारी समाजमा रहेको कुनै उत्पीडितले जब उत्पीडन र बहिष्करण देख्छ, भोग्छ तब उसलाई आफूभन्दा पनि सिंगो उत्पीडित समुदाय महत्वपूर्ण लाग्ने गर्छ । यसबीचमा जसोतसो आफ्नो जीविकोपार्जन भइरहेकै भए पनि आफूलाई भने उकुसमुकुस भैरहेको लालदेव बताउँछन् । उनले हामीलाई आफ्नो गाउँ देखाउँदै भने, ‘मुसहर समुदायमाथि हुने थिचोमिचो, हेपाईलाई मैले पचाउन नसकेर अध्यक्षमा चुनाव लडेँ ।’
क्यामेरा अगाडि भने बोल्न ‘धक’ मानेका लालदेवले ‘अफ क्यामेरा’मा भने हामीसँग धेरै खुल्न सके । ‘म अध्यक्ष हुनुभन्दा अगाडि मुसहर भएकै कारण मलाई र मेरो समुदायलाई यहाँका जनप्रतिनिधिले बाहिरै बस्न लगाउँथे । प्रशासनिक काम लिएर मुसहरहरु आउँदैगर्दा कहिलेकाहीँ नेट चलेन, सर्भर डाउन छ, भिडभाड नगरिदिनु, बाहिरै बसिदिनु भन्ने बहाना गर्थे तर बाहिर जे भने पनि भित्री कुरा चाहिँ हामी मुसहर भएकै कारणले त्यसो भनेको जस्तो हामीलाई भान हुन्थ्यो ।’ तीतो अनुभव सुनाए उनले । उनले फेरि थपे, ‘म अलिअलि पढेको छु रत मुसहर भनेर हेपाई खाइरहेको छु भने केही नजान्ने मेरो समुदायलाई त कस्तो होला भन्ने सोचेर माओवादीमा लागेँ ।’ मैले माओवादीमा लागेपछि धेरै कुरा बुझें । ‘सुरुमा चाहिँ माओवादी भनेको गरिबहरुको पार्टी हो भन्ने मात्र थाहा थियो, आजभोलि अरुअरु बुझ्न थालेको छु’, उनले भने ।
समुदायमा हुने गरेका जातीय विभेद र तपाईंले भोग्नुपरेको विभेदको अनुभव चाहिँ कस्तो छ नि ? हाम्रो यो प्रश्नमा उनले समाजमा छुवाछूत हुनु त सामान्य हो भन्ने जवाफ दिए । बुझ्दै जाँदा थाहा भयो कि– जातीय विभेदका भोगाई उनीसँग कयैन रहेछन् । उनको गाउँमा पानी नचल्नु अर्को सामान्य विषय रहेछ । खुसी मुद्रामा लालदेवले भनेका थिए, ‘अरु नभएपनी अध्यक्ष भएपछि बल्ल ठुलाठालासँगै बसेर चिया खान पाइएको छ ।
आजभोलि लालदेव विभेदकैविरुद्धमा लागि परेका छन् । लालदेवको अधिकांश समय त वडाकै काममा व्यतीत भइरहेको हुन्छ । वडा कार्यालयको छेवैमा घर भएर पनि होला, लालदेव बिहान उज्यालो भएदेखि साझसम्म वडा र वडाबासीकै काममा हुन्छन् । वडाबासीको सेवामा समय पुग्दैन भन्ने ठानेर आफूले चलाउदै आएको किराना पसल पनि बन्द गरेको लालदेव बताउँछन् । अहिले पनि उनी आफू भने निकै साधारण जीवनयापन बिताइरहेका छन् । सामान्य खरको छानो लगाएर बनाइएको दुइकोठे भुइँघरमा बस्छन् । यसैमा सपरिवार सन्तुष्ट रहेको उनकी श्रीमती बताउँछिन् ।
गत निर्वाचनले कोशी गाउँपालिका ७ मा लालदेवसहित माओवादी केन्द्रको प्यानललाई नै अनुमोदन गरेको हो । सदस्यहरूमा विजय मुसहर सदा, कुमार मुखिया, किसनी भुजेल र बुलन्तीदेवी सदा निर्वाचित भएका थिए । यसले गर्दा पनि उनलाई काम गर्न अलि सहज भने पक्कै छ होला भन्ने हाम्रो अनुमान थियो । तर यथार्थ अलि भिन्न रहेछ । लालदेवकाअनुसार चुनाव जितेको सुरुसुरुमा मुसहरको छोरा हो, यसलाई एक महिना टिक्न दिन्न, फर्जी काममा फसाइदिन्छु भनेर त्यहाँका नेताहरू लागेका थिए । तर उनीहरूको त्यो प्रयास असफल भयो । अहिले पनि गाउँपालिकाले उनको वडालाई जम्मा १५ लाख वार्षिक बजेट विनियोजन गर्ने गरेको हुँदा धेरै काम गर्न कठिन भएको उनी दुखेसो पोख्छन् ।
‘वडाबासीका माग थुप्रै छन्, बजेट अभावका कारण पूरा गर्न नसक्दा घरीघरी दिक्क लाग्छ फेरि चुनौतीसँग सामना गर्नैपर्छ भन्ने लागेर सम्हालिन्छु’, लालदेव भन्छन् । पर्याप्त स्रोत–साधन भएको खण्डमा भने अझै थुप्रै कामहरू गर्न बाकी रहेको उनको बुझाइ छ । गाउँपालिकाबाट भनेजस्तो सहयोग नभएको, प्रदेश तथा संघीय सरकारसँग आफ्नो पहुँच नपुग्ने भएकाले बजेट अभाव रहेको उनको गुनासो छ ।
यद्यपि आफूले सकेको भने केही गर्न बाकी राखेका छैनन् लालदेवले । वडाअध्यक्षको पदभार ग्रहण गरेपछि गर्भवती सुत्केरी महिलाका लागि स्वास्थ्य सामग्री दिने निर्णय गरेका थिए । अहिले वडामा रहेका दलित, असाह्य तथा गरिब १ सय ५० भन्दाबढी विद्यार्थीलाई निशुल्क ट्युसन कक्षा उपलब्ध गराइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘मेरो समुदायका वडाबासीहरू अधिकांश दैनिक ज्यालादारी गर्छन्, दिनभरी काम गरेर बेलुका छाक टार्नेहरू छन्, अरु समुदायका पनि थुप्रै निम्न आय भएकाहरू छन्, त्यसैले उनीहरूका बालबच्चा पढ्न जान सक्दैनन् भन्ने बुझेर निशुल्क ट्युसन कक्षाको व्यवस्था गरिएको हो ।’
लालदेवहरूलाई प्रेरित गर्दै सफल बनाउनमा किन चाहँदैन– गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारहरू ? राजनीतिक दलहरू ? बौद्धिक तप्काहरू ? यी प्रश्नहरूको जवाफ कस्ले दिने ?