रामधुनी । सामुदायीक कुकुर (छाडा कुकुर) नियन्त्रण गर्न सुनसरीको झुम्कामा सञ्चालन गरिएको ‘बन्ध्याकरण शिविर’ मा २ सय २५ ओटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
सामुदायीक कुकुरको संख्या अत्यधिक भएकाले नियन्त्रणका रामधुनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले शनिबारदेखि मंगलबारसम्म झुम्कामा शिविर सञ्चालन गरेका थिए ।
नगरपालिकाको ३ लाख र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाको १ लाख ५० हजार लागतमा शिविर सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका पशु स्वास्थ्य प्राबिधिक दुर्गा प्रसाद पराजुलीले जानकारी दिए । शिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोग रहेको थियो ।
समुदायमा छाडा कुकुरका कारण रेबिज बढने, मान्छेलाई हिडडुल गर्नै समस्या हुने, सवारीसाधन दुर्घटना हुने लगायत समस्या बढ्दो छ । त्यसैले कुकुरको प्रजनन्दर घटाएर संख्यामा कमी ल्याउन शिविरले महत्वपूर्ण भूमिका खेल्ने पशु सेवा साखाका पराजुलीले बताए ।
शल्यक्रिया गरेर पशु चिकित्सकहरुले कुकुर बन्ध्याकरण गरेका थिए । पछिल्लो समय सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर र कुटेरसमेत मार्ने गरेको पाइन्छ । कुकुरलाई विष सेवन गराएर वा कुटेर मार्न नहुने आवाज पशु अधिकारकर्मीहरुले उठाउदै आएका छन् ।