रामधुनी । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले सुनसरीको रामधुनी नगरपालिकामा पर्ने निर्माणधीन झुम्का खानेपानी आयोजनाको निरीक्षण गरेका छन् ।
सोमबार मन्त्री यादव झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको कार्यालयमा पुगेर आयोजनाको निरीक्षण गरेका हुन् ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कोष, रामधुनी नगरपालिका र झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिबीच भएको सम्झौता अनुसार करिब ३६ करोड लागतमा झुम्कामा खानेपानी आयोजनाको काम सञ्चालित छ । सोहि आयोजनाको निरीक्षण गर्न मन्त्री यादव झुम्का खानेपानी आएका हुन् ।

तस्बिर : हाम्रोशब्द ।
झुम्का खानेपानीका अध्यक्ष केशीलाल चौधरीका अनुसार मन्त्री यादवले करिब आधा घण्टा उपभोक्ता समिति, विज्ञ समुह र ठेक्दार पक्षसँग छलफल गरे । मन्त्री यादवले आयोजनाको कामको जिम्मा लिएको ठेक्दार कम्पनी शर्मा भिमेश्वर जेभीका प्रतिनिधि इन्जिनियर हेमन्त मण्डललाई कामको प्रगतिबारे जानकारी लिएका थिए ।
आगामी डिसेम्बरसम्म आयोजनाको सम्पुर्ण काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि समयमा काम सम्पन्न नहुने बुझेपछि उनले ठेक्दार पक्षलाई त्यसको कारण मागेका थिए । काममा ढिलाई हुनुको कारण ‘देशको वर्तमान अवस्था’ जिम्मेवार रहेको इन्जिनियर मण्डलको जवाफपछि उनी आक्रोशित भए । स्रोतका अनुसार देशको अवस्थालाई दोष लाएर काममा ढिलाई नगर्न चेतावनी दिदै उनले भने, ‘सरकारले समयमा बजेट उपलब्ध गराएको छ । तपाईहरुलाई देशको वर्तमान अवस्थाले के अप्ठ्यारो भयो ? यस्तो ढिलासुस्तीले हुँदैन, काम समयमा सक्नुहोस् ।’
मन्त्री यादवसँगै मन्त्रालयको खानेपानी विभागका उपमहानिर्देशक माधव अधिकारी, सहरी खानेपानी क्षेत्रीय व्यवस्थापन कार्यालय इटहरीका प्रमुख महेशी महत्तो लगायतको उपस्थिति रहेको थियो ।
