इनरुवा । सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको साकेला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका ४ बस्दै आएका ४२ बर्षीय न्यायाधीश राई रहेका छन् ।
आज शनिबार विहान ३ बजेको समयमा कारगारमा राईको मृत्यु भएको हो । पत्नी हत्याको आरोपमा कैद भुक्तान गरिरहेका राईको करागारभित्र मृत्यु भएको हो ।
राईका आफन्तहरुले करागारभित्रै कुटेर हत्या गरिएको आरोप लगाएका छन् । मृतक राईका दाजु सुभाष राईले कारागारमा भाईको हत्या भएको दावी गर्दै घटनाको छानविन गर्नुपर्ने माग गरेका छन् । मृतक राईका भाउजू उर्मिला राईले देवरको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै कालगतीले नभई कारागारभित्रै कुटेर हत्या गरेको बताइन ।
उता झुम्का कारागार प्रमुख धुब्रराज कोइरालाले भने जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् । स्वासप्रस्वासमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि भर्ना गरेको र सोहि क्रममा मृत्यु भएको कोइरालाको भनाई छ ।
यसैबीच मृतकका आफन्तले कारागारभित्रै हत्या गरेको र कारागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको जानकारी दिएकी छन् ।
पीडित पक्षले न्याय र क्षतीपुर्ती नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडान लिएका छन् । हाल शव इनरुवा अस्पतालमा राखिएको छ ।
आमाको हत्या गरेको आरोपमा बुवा कारागारमा रहेकोमा कारागारभित्रै बुवाकोसमेत मृत्यु भएपनि ८ वर्षिया छोरी मेलिना राई र १४ वर्षिय छोरा मिलन राई आमाबुवाविहीन बनेका छन् ।