रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा लागेको जब्दी मेलामा महंगो सवारी पार्किङ शुल्क लिएको पाइएको छ ।
शनिबार मेलामा पुगेका सवारीसँग आयोजकले साइकलवापत ३०, मोटरसाइकलवापत १०० र सिटी सफारी, गाडि तथा भेनलाई १५० रुपैँया शुल्क लिएको थियो ।
चर्को शुल्क लिएको भन्दै मेला संचालक समितिको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
जब्दी मेला पुरानो सिरुवा मेलाको रुपमा सुनसरीमा प्रख्यात छ । मेलाको अवसरमा यहाँ हजारौँ भक्तजन पुग्ने गर्छन् । ‘म आफ्नो मोटरसाइकल लिएर परिवार सहित जब्दी मेला जादा एउटा मोटरसाइकल पार्किङ गरेवापत रु १०० को पार्किङ रसिद कटाए । साइकल मात्र पार्किङ गरेवापत रु ५० लिएको पाए ।’ झुम्काका सरोज चौधरीले लेखेका छन्, ‘लुटतन्त्र होइन भन्या ? आजसम्म म अरुअरु ठाउँमा गको छु । त्यति रकम साइकल र बाइक पार्किङका नाममा लिने गरेको अहिलेसम्म देखिए न त ?’ त्यस्तै, अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता प्रेम चौधरीले ‘जब्दी मेलाको समितिलाई यो लुटतन्त्र केका लागि ?’ भन्दै प्रश्न गरेका छन् ।
मेला आयोजकले भने भक्तजन र सवारी साधनको चापलाई ध्यानमा राखेर मेला व्यवस्थापन गर्न र मन्दिरको थप बिकासका लागि सहयोगस्वरुप पार्किङ् शुल्क लिइएको बताएको छ । हाम्रोशब्दसँगको कुराकानीमा श्री जब्दी महारानी मन्दिर सेवा समितिका सदस्य रोहित कुमार चौधरीले भने, ‘पोहोर साल पनि त्यति लिएको हो, यसपालि पनि त्यहि हो । डेढ दुई लाखको बाइक चढ्दा मन्दिरलाई त्यति दान गर्न सकिदैन ? मेला व्यवस्थापन, सुरक्षा र मन्दिरको बिकासका लागि हामीले शुल्क लिएको हो ।’
चौधरीका अनुसार जब्दी मेला २०२० सालदेखि निरन्तर लाग्दै आएको सुनसरीको पुरानो मेला हो । निःशन्तानलाई सन्तान प्राप्तिका साथै विभिन्न रोग निको हुने विश्वासका साथ यो मेलालाई निकै महत्वपूर्ण रुपमा लिइने गरिएको छ ।