रामधुनी । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को कमजोर नतिजाले भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको शैक्षिक अवस्था उदांगो भएको छ ।
प्रधानाध्यापक दशरथ दासका अनुसार भासीबाट ६२ जना विद्यार्थीले एसईई दिदा ४ जना मात्रै पास भए भने ५८ जना परीक्षार्थी नन ग्रेडेङ (अनुत्तीर्ण) भएका छन् । त्यसमध्ये ८ जनाले ग्रेडवृद्धि परिक्षा दिन पाउँनेछन् भने बाँकी ५० जनाले पुनः अर्कोबर्ष सबै बिषयको परिक्षा दिनुपर्ने छ ।
अधिकांश विद्यार्थी गणित बिषयमा अनुत्तीर्ण छन् । भासी स्कुलमा माध्यमिक तहमा गणित पढाउने शिक्षक करिब १० बर्षयता नभएको र आधारभूत तहका शिक्षकले पढाउने गरेको प्रधानाध्यापक दासको भनाई छ ।
भासी रामधुनी नगरपालिका क्षेत्रको पुरानो विद्यालय भए पनि राजनीतिक खिचातानीले निरन्तर ओरालो लाग्दै गएको त्यहाँ कार्यरत एक शिक्षकको भनाई छ । नाम नबताउने सर्तमा उनी भन्छन्, ‘गणित बिषयमा शिक्षक नै छैन । शिक्षक ल्याउँने कुरामा राजनीतिक खिचातानी धेरै छ । बिषयगत शिक्षक नै नहुँदा कसरी रिजल्ट राम्रो आओस् !’
भासीको नतिजा कमजोर देखिएको र समिक्षा गरेर आगामी दिनमा सुधार गर्नुपर्ने रामधुनी शिक्षा शाखा प्रमुख राजन गेलालको भनाई छ । त्यहाँ गणित शिक्षकको व्यवस्था गर्न निरन्तर प्रयास भइरहेको उनी बताउँछन् ।