रामधुनी । नेपाल विद्युत् प्राधिकरणले इटहरी–१२ मा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बिजुली काटेको छ । सर्वसाधारणलाई आइपिओ बिक्री गर्ने तयारीमा रहेको रिलायन्स कम्पनीको विद्युत् मङ्गलवार राती काटिएको हो ।
विद्युत् प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३६ लाख ८४ हजार महसुल तिरेको छैन । विद्युत् महसुलको बक्यौता चुक्ताको कार्यतालिका बुझाउन कम्पनीलाई दिएको समयसीमा कटिसकेको हुँदा लाइन काटिएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन बापतको बक्यौता नबुझाएको भन्दै रिलायन्ससहित घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको छ । प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने ६१ वटा उद्योगको लाइन काटेको थियो ।
उद्योगको बक्यौता सम्बन्धी अध्ययन गर्न बनेको आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्देशन विपरीत नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्क्याउने काम भएको उद्योगीहरूको आरोप छ ।