रामधुनी । राम्रो आम्दानी हुने र बजारको पनि समस्या नभएपछि सुनसरीका किसान मकै खेतितर्फ आकर्षित हुँदै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको तथ्यांक अनुसार मकै खेतितर्फ किसानको आकर्षण बढ्दै गएको पाइएको हो ।
सुनसरीमा आर्थिक बर्ष २०८०/०८१ मा १० हजार ६ सय ४१ हेक्टर क्षेत्रफल जमिनमा मकै खेती भएको छ, त्यसबाट करिब ८३ हजार मेट्रिकटन मकै उत्पादन भएको छ । जबकी आर्थिक ०७९/०८० मा जम्मा ९ हजार ६ सय ७४ हेक्टरमा मात्रै मकै खेती भएको थियो, जसबाट करिब ७५ हजार ५ सय मेट्रिकटन मकै उत्पादन भएको थियो । त्यस्तै आर्थिक बर्ष ०७८/०७९ मा ९ हजार २ सय १४ हेक्टरमा र आर्थिक बर्ष ०७७/०७८ मा ९ हजार ३४ हेक्टरमा मकै खेती भएको कृषि ज्ञान केन्द्र सुनसरीका विभिन्न बार्षिक प्रतिबेदनहरुले देखाएको छ ।
हिउँदे बालीमा अन्य बालीभन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित हुँदै गएको ज्ञान केन्द्र सुनसरीका सहायक बागवानी विकास अधिकृत तथा सूचना अधिकारी प्रविणलाल श्रेष्ठ बताउँछन् । ‘हिउँदे बालीमा मकै राम्रो देखियो । किसानलाई बजारको समस्या छैन । घाँसका रूपमा पनि बिक्री हुने, दाना बनाएर बेच्न पनि मिल्ने भएपछि किसानलाई सजिलो भएको छ ।’ श्रेष्ठ भन्छन्, ‘सुनसरीमा प्रत्येक बर्ष मकै उत्पादनको क्षेत्रफल पनि बढदो छ । उत्पादन पनि बढदै गएको छ ।’
धेरै प्राविधिक ज्ञानको आवश्यकता नपर्ने, तुलनात्मक रुपमा मेहनत कम लाग्ने, खेतीमा प्रबिधिको प्रयोग गर्न सकिने र बजारको पनि समस्या नभएका कारण मर्कै खेतीतर्फ किसानको आकर्षण बढदै गएको ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । त्यस्तै साइलेज घाँसका लागि हरियो मकैको प्रयोग मकै खेतीमा आकर्षणको कारण बनेको उनको भनाई छ । ‘गहुँ खेती घटिरहेको देखिन्छ । तोरी कमै लगाइएको देखिन्छ । त्यसको सट्टा मकै खेती बढदो क्रममा छ । सहज बजार छ यसको । आधुनिक यत्रहरु पनि मकै खेतीमा प्रयोग हुन थालेका छन् ।’ प्रमुख सिंहले भने, ‘यो चै बोटदेखि नै घरायसी घाँसको रुपमा पनि प्रयोग हुने भयो । साइलेज घाँसका लागि हरियो मकै खेत–बारीबाटै बिक्री हुने गर्दछ ।’ किसानहरु परम्परागत खेतीबाट व्यवसायीक खेतीतर्फ अग्रसर हुँदै गएकाले बढी नाफा हुँने देखेपछि मकै खेतीतर्फ आकर्षित हुँन थालेको प्रमुख सिंहको भनाई छ ।

































Discussion about this post