रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा भएको मेयर कम भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिराटचोक भेट्रानले जितेको छ । आइतबार फाइनलमा आयोजक रामधुनी भेट्रानलाई २–१ गोलअन्तरले पराजित गर्दै बिराटचोकले उपाधि जितेको हो ।
रामधुनी–३ मा रहेको पिप्राहा खेल मैदानमा भएको फाइनलको निर्धारित ६० मिनेटमध्ये पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेको थिएन । दोस्रो हाफको ९ औँ मिनेटमा बिराटचोकका सन्तोष राईले पहिलो गोल गरेका थिए । त्यसपछि १६ औँ मिनेटमा सन्तोषले पुनः गोल गरेका थिए । जवाफमा दोस्रो हाफको २२ औँ मिनेटमा रामधुनीका लागि विशाल राईले गोल गरे । तर रामधुनीले थप गोल गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउँनु परेको छ ।
जितसँगै विराटचोकले नगद एक लाख १ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको रामधुनीले ५१ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा विभिन्न ८ ओटा टिमको सहभागिता रहेको थियो । जसमा रामधुनी र बिराटचौक भेट्रानबाहेक राजावास भेट्रान, मिल्स भेट्रान विराटनगर, कमलामाई भेट्रान सिराहा, दमक भेट्रान, पूर्वेली भेट्रान धरान र झिलझिले भेट्रान रहेका थिए ।
रामधुनी नगरपालिका, वडा कार्यालयहरु, विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग र रामधुनी भेट्रान क्लवको आयोजनामा पहिलो पटक रामधुनीमा भेट्रान प्रतियोगिता आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष चन्द्रबहादुर बस्नेतले बताए ।