रामधुनी । रामधुनी नगरपालिका–१ झुम्कामा पाँच शैय्याको झुम्का आधारभूत अस्पताल उद्घाटन गरिएको छ । सोमबार एक समारोहका बीच नगर प्रमुख शंकरलाल चौधरीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमका नगर प्रमुख चौधरीसहित उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । समारोहमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले अस्पतालको स्थापना नगरवासीका लागि स्वास्थ्य सेवा पहुँचमा ल्याउने महत्वपूर्ण कदम भएको बताए । उनले भने, ‘हामीले यो अस्पताल सञ्चालनमा ल्याउँनुको उद्देश्य स्थानीयस्तरमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पर्याउँनु हो ।’
त्यस्तै उपप्रमुख तारा थापाले अस्पताल उद्घाटनलाई नगरपालिकाको महत्वपूर्ण उपलब्धि भएको बताइन । ‘हामीले स्वास्थ्य सेवाका अवसरहरू सबैको पहुँचमा पुर्याउने लक्ष्य राखेका छौं । यो अस्पतालले विशेषगरी महिलाहरू, बालबालिका र वृद्धवृद्धाहरूलाई फाइदा पर्याउँनेछ,’ उनले भनिन् ।
नगर प्रमुख शंकरलाल चौधरीले नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा राज्यको दायित्व भएको भन्दै अस्पतालले विपन्न नागरिकलाई धेरै फाइदा पुग्ने बताए । ‘विपन्न नागरिक निजी अस्पतालमा गएर उपचार गर्न सक्दैनन् । यसका लागि हामीले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना बनाएका छौँ । बीमा कार्यक्रम लागू भएपछि नगरवासीले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा पाउनेछन् । यसले विशेषगरी विपन्न वर्गलाई ठूलो राहत पर्याउँनेछ ।’ नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक पूर्वतयारी गरिरहेकोसमेत प्रमुख चौधरीले बताए ।

































Discussion about this post