रामधुनी । लामो समयदेखि नगर प्रहरीविहीन रामधुनी नगरपालिकाले चालु आर्थिक बर्षमा १२ जना नगर प्रहरी भर्ना गर्न सफल भएको छ । यसले अहिले एउटा नयाँ अनुशासन देखिन थालेको छ । हाटबजारमा अनावश्यक भिडभाड नियन्त्रण गर्न होस्, सडकमा खुलेर घुम्ने चौपायालाई व्यवस्थापन गर्न, वा नगर क्षेत्रका सार्वजनिक सम्पत्ति जोगाउन—अब नगर प्रहरीले जिम्मेवारी सम्हाल्न थालेका छन् ।
२०७९ को स्थानीय निर्वाचनपछि सक्रिय बनिरहेको रामधुनी नगरपालिका अहिले ‘सुदृढ स्थानीय शासन’तर्फ अघि बढिरहेको छ । यसको ताजा उदाहरण हो-नगर प्रहरी परिचालन । ‘नगर प्रहरी ऐन–२०८१’ लागू गर्दै पालिकाले पहिलोपटक १२ जना नगर प्रहरीलाई नियुक्त गरेको छ ।
नगर प्रहरीको नेतृत्व सहायक निरीक्षक शंकर मरिक डोमले सम्हालेका छन् । उनीसँगै नगर प्रहरी हवल्दार पदमा रामबाबु कार्की र हरि कुमार राई, र नगर प्रहरी जवान पदमा अमृत चौधरी, विज्ञान कट्टेल, रक्कि कुमार चौधरी, एञ्जिला मगर, सुस्मिता कुमारी चौधरी र मनिष कुमार मोची नियुक्त भएका छन् ।
यसअघि नगरपालिकामा सुरक्षा गार्डका रुपमा कार्यरत तीन जना कर्मचारी सुजन लामा, चुडानाथ दाहाल र भजनलाल चौधरीलाई नगर प्रहरी जवान पदमा समायोजन गरिएको छ भने बाँकी ९ जना नयाँ प्रतिस्पर्धाबाट छनोट गरी करारमा नियुक्त गरिएको नगरपालिका प्रशासन प्रमुख दुर्गेश कुमार विश्वकर्माले जानकारी दिए ।
अब रामधुनीका सडक र बजार थप अनुशासित हुने अपेक्षा
नगर प्रमुख शंकरलाल चौधरी भन्छन्, ‘नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, हाटबजार व्यवस्थापनदेखि खुला चौपाया नियन्त्रण, नगर नियम कार्यान्वयन, सार्वजनिक सम्पत्ति संरक्षण र अनधिकृत निर्माण नियन्त्रणसम्म नगर प्रहरीको उपस्थिति आवश्यक थियो ।’ उनले विश्वास व्यक्त गरे—‘नगर प्रहरी गठनसँगै पालिकाको सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।’
विगतमा खुला चौपाया सडकमा घुम्दा हुने दुर्घटनाहरू, अनाधिकृत टहरा र अस्थायी पसलका कारण सडक जाम, हाटबजारमा बिनाअनुमति व्यापार गर्ने समस्या जस्ता धेरै चुनौतीहरू थिए । अब यस्ता समस्यामा नगर प्रहरीले तत्काल हस्तक्षेप गर्नेछ । नगरपालिकाले नगर प्रहरीलाई आवश्यक तालिम तथा स्रोतसाधनको व्यवस्था गरिरहेको छ । स्थानीयवासीहरूलाई अब सडक, बजार र सार्वजनिक स्थानमा अनुशासन र सुरक्षा अनुभूति गराउने जिम्मा नगर प्रहरीले पाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post