रामधुनी । रोजगारीको अवसर सिर्जना र युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित रामधुनी नगरपालिकाले व्यवसायिक कुक तालिम सञ्चालन गर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २० जना युवालाई निःशुल्क तालिम दिएको नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा थप २० जनालाई कुक तालिम दिइरहेको छ ।
नगरपालिकाले नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानबाट सञ्चालित नरबहादुर कर्मचारी बहुप्राविधिक शिक्षालय इटहरीसँगको सहकार्यमा तालिम सञ्चालन गरिरहेको नगरपालिकाको रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बा फोम्बोहाङले बताए । उनका अनुसार विदेश जान चाहने, स्वदेशमै स्वरोजगार हुने वा होटल व्यवसायमा भविष्य देखेका युवालाई लक्षित गरेर तालिम दिइएको हो । यसले युवामा आत्मनिर्भर बन्ने बाटो देखाएको उनले बताए ।
नगर प्रमुख शंकरलाल चौधरीले सीपमूलक तालिमले युवाहरूको भविष्य उज्यालो बनाउँने भन्दै बेरोजगार युवाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘हामी युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न चाहन्छौं । सीप छ भने देशमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । कुक तालिमजस्ता सीपमूलक तालिमले युवाहरूको भविष्य उज्यालो बनाउन सहयोग पुग्छ ।’
प्रतिष्ठानका अध्यक्ष निर्मल बरालले बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेगरी तालिम आयोजना गरिएको बताए । तालिमको महत्वबारे बताउँदै उनले भने, ‘हामीले बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौं । रामधुनी नगरपालिकासँगको सहकार्य उदाहरणीय बनेको छ । प्रशिक्षार्थीहरुले यो सीप प्रयोग गरेर स्वदेश वा विदेश जहाँसुकै पनि सहजै रोजगारी पाउन सक्छन् ।’
बरालका अनुसार यसअघि तालिम सकेका २० जना मध्ये केहीले रोजगारी पाइसकेका छन् भने केहीले व्यवसाय सञ्चालन गर्दैछन् । अहिले तालिममा रहेका सहभागीहरूले होटल तथा रेष्टुरेन्टमा आवश्यक पर्ने आधुनिक खाना पकाउने सीप सिकिरहेका छन् ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)



































Discussion about this post