रामधुनी । रामधुनी नगरपालिकाले पशुपालक किसानको घरदैलोमै पुगेर पशु उपचार सेवा दिने गरेको छ । किसानले जानकारी गराएपछि पशु सेवा शाखाबाट प्राविधिक टोली गोठमै पुगेर उपचार, परामर्श र औषधि वितरणको सेवा दिइरहेका छन् ।
पशु सेवा शाखाका प्राविधिक दुर्गा प्रसाद पराजुलीका अनुसार यो सेवा गाउँगाउँका किसानका लागि सहज, प्रभावकारी र भरोसायोग्य बन्दै गएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै र समुदायलाई पशुजन्य जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले नगरपालिका पशु स्वास्थ्यसँग सम्बन्धित विविध सेवा कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आएको छ । नगरको पशु सेवा शाखाले हरेक वर्ष गाई, भैंसी र बाख्रामा तीन हजारभन्दा बढीपटक कृत्रिम गर्भाधान सेवा दिइरहेको छ ।
पशु सेवा शाखा प्रमुख शिव कुमार मोचीका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ३ हजार १ सय ६१ वटा पशुमा कृत्रिम गर्भाधान गरिँदा अघिल्लो वर्ष ३ हजार २ सय पशुमा यो सेवा दिइएको थियो । चालु आर्थिक वर्षमा भने यो संख्या ३ हजार ४ सयभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, शाखाले हरेक वर्ष करिब एक हजार कुकुरलाई रेविजविरुद्ध खोप दिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै ३४ हजार ३ सय २१ वटा पशुमा निशुल्क औषधि वितरण गरिएको छ भने चालु आर्थिक वर्षमा यो संख्या ३६ हजारभन्दा बढी पुग्ने पशु सेवा शाखाको अनुमान छ । नगरक्षेत्रका ३ सय ९१ वटा सामुदायिक कुकुरमा बन्ध्याकरण पनि गरिएको छ । जसले जनस्वास्थ्य तथा सुरक्षामा सकारात्मक प्रभाव पारेको छ ।
यसबाहेक, शाखाले घाँस प्रवद्र्धन कार्यक्रम अन्तर्गत उन्नत जातका घाँस बीउ वितरण, फार्म सुधारका लागि प्राविधिक सहयोग र परामर्श, निःशुल्क भ्याक्सिनेसन, तथा विभिन्न पशुजन्य रोगको समयमै पहिचान र उपचार सेवा पनि दिँदै आएको छ । यी कार्यक्रमले गर्दा नगर क्षेत्रमा पशुपालन व्यवसाय व्यवस्थित, सुरक्षित र आम्दानीमुखी बन्दै गएको पशु सेवा शाखाको ठम्याइ छ । किसानहरू पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् भने दुध, मासु र दुग्धजन्य उत्पादनमा उल्लेखनीय सुधार देखिएको छ ।
पशुपालक किसानको जीवनस्तर सुधार गर्दै सुरक्षित समुदाय निर्माणतर्फ योगदान पुर्याइरहेका यी सेवा आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको पशु सेवा शाखाका प्रमुख शिवकुमार मोचीले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post