रामधुनी । रामधुनी नगरपालिका–१ मा रहेको भादगाउँ सिनुवारी माध्यमिक विद्यालय (भासी स्कुल) पछिल्ला वर्षमा परिवर्तनको उज्यालोतर्फ अघि बढेको छ । विद्यालयको भौतिक पूर्वाधारदेखि शिक्षण प्रणालीसम्म सुधार हुँदै गएपछि अहिले यो विद्यालय उदाहरणीय बन्दै गएको छ ।
कहिल्यै चासो नदिएकोजस्तो देखिने यो विद्यालय अहिले रंगरोगन गरिएका भवन, सफा परिसर र अनुशासित वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावकका लागि आकर्षक बन्दै गएको छ । विद्यालयको पुरानो जीर्ण स्वरूप मेटाउँदै अब नयाँ अनुहार देखिएको छ ।
विद्यालयले अघिल्लो आर्थिक वर्षदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको थियो । सकारात्मक प्रतिक्रिया पाएपछि चालु आर्थिक वर्षदेखि कक्षा ६ देखि ८ सम्म पनि अंग्रेजी माध्यममा पढाइ विस्तार गरिएको छ । यसले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै निजी विद्यालयतर्फको आकर्षण घटाएको छ ।
स्थानीय सरकार र समुदायको सहकार्यमा भासी स्कुलको सुधार सम्भव भएको वडा सदस्य रामभरोसी साह रौनियार बताउँछन् । उनका अनुसार वडा नं. १ ले विद्यालयका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । साथै, नगरपालिकाले पनि शिक्षा क्षेत्रमा देखाएको सक्रियताले विद्यालयको रूपान्तरणमा थप ऊर्जा दिएको छ ।
तीन वर्षको अवधिमा विद्यालयमा देखिएको परिवर्तनसँगै स्थानीय अभिभावकहरूको भरोसा सरकारी विद्यालयप्रति बढेको छ । अब आफ्नै टोलछिमेकमा आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनेको उनीहरू बताउँछन् ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post