रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ३ ले विपन्न किसानको जीवनस्तर सुधार र कृषि–पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न निरन्तर काम गर्दै आएको छ । वडाले पछिल्ला गाईका बाच्छी, ट्यामी, विषादी स्प्रे, भ्याक्सिन, घाँस बीउ लगायतका सामग्री तथा सेवा वितरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँदै आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मात्र वडाले १ लाख २५ हजार रुपैयाँको बजेटमार्फत १२ जना विपन्न कृषकलाई गाईका बाच्छी वितरण गरेको थियो । यस्तै, १०० जना किसानलाई दुध संकलन र भण्डारणका लागि ट्यामी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा वडाले २६ जना कृषकलाई विषादी छर्ने स्प्रे मेसिन वितरण गरेको छ, जसले बालीमा रोग–कीराको नियन्त्रणमा सहजता ल्याएको छ । कृषिमा आधुनिक उपकरणको पहुँच विस्तार गर्न यो पहल उपयोगी भएको कृषकहरू बताउँछन् ।
वडाले किसानलाई जै घाँस वितरण गर्दै आएको छ । जसले पशु आहारमा सुधार ल्याएको छ । साथसाथै, गाई, भैंसी, बाख्रालगायत पशुमा विभिन्न रोगविरुद्धका भ्याक्सिन निःशुल्क रूपमा वितरण गर्ने कार्य पनि वडाले सञ्चालन गर्ने गरेको छ ।
यी कार्यक्रमहरूबाट वडाका कृषकहरूलाई व्यवसायिक पशुपालन र बाली उत्पादनमा प्रत्यक्ष फाइदा पुगेको छ । स्थानीय स्रोतको उपयोग गर्दै, साना किसानलाई लक्षित गरी गरिएको यस्तो सहयोगले उत्पादन बढाउनुका साथै ग्रामीण अर्थतन्त्रमा गतिशीलता ल्याउन थालेको वडा अध्यक्ष बुधनारायण चौधरीले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post