रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ ले ‘उज्यालो वडा’ अभियान अन्तर्गत वडाभरिका ६ सय पोलमा सडक बत्ती जडान गरेको छ । विगत तीन वर्षको अवधिमा यो उपलब्धि हासिल गरिएको वडाध्यक्ष सुरेन्द्र सिंह खवासले जानकारी दिए ।
वडाका विभिन्न बस्ती, मुख्य सडक, गल्ली, बजार क्षेत्रदेखि सार्वजनिक स्थानहरूसम्म उज्यालो बनाउने उद्देश्यले लगातार चरणबद्ध रुपमा बत्ती जडान कार्य गरिएको हो । ‘अहिले हाम्रो वडा साँझपख अँध्यारो रहने स्थान नभएको अवस्थामा पुगिसकेको छ,’ वडाध्यक्ष खवासले भने, ‘जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै हामीले योजनाबद्ध ढंगले प्रत्येक वर्ष सडक बत्ती विस्तार गर्दै आएका छौं ।’
सडक बत्ती जडानसँगै वडामा अपराधिक गतिविधि नियन्त्रण, दुर्घटनामा कमी र स्थानीयको साँझपखको आवागमन सहज भएको छ । बत्ती जडानको काममा नगरपालिकाको सहकार्यका साथै वडाबाटै छुट्टै बजेट विनियोजन गरी कार्यान्वयन गरेको हो ।
वडाध्यक्ष खवासका अनुसार आगामी वर्षहरूमा अझ प्रविधिमैत्री प्रणाली जडान गर्दै स्वचालित बत्ती, सोलार प्रणाली र निगरानी क्यामेरा जडानको योजना वडाले बनाइरहेको छ । उनले भने, ‘हामी उज्यालोको मात्रै होइन, सुरक्षित र स्मार्ट वडाको लक्ष्यमा अघि बढिरहेका छौं ।’
स्थानीयवासीहरुले वडाको यो पहललाई स्वागत गरेका छन् । खासगरी विद्यालय, मन्दिर, स्वास्थ्य चौकी, सार्वजनिक चौतारो र पार्क आसपासको क्षेत्र उज्यालो भएपछि जनजीवन थप सहज भएको स्थानीय बताउँछन् ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post