रामधुनी । बौद्धिक अपाङ्गता भएका बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लब अफ झुम्का र लायन्स क्लब अफ क्विन्स बुद्ध (न्युयोर्क) ले रामधुनी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा बालबालिकाको दैनन्दिन आवश्यकतालाई सहज बनाउने उद्देश्यसहित चिप्लेटी, पिङ, कुर्सी, थालकचौरा सेट, भाँडा, प्रेसर कुकर, फ्रिज, पंखा लगायतका सामग्री वितरण गरिएको हो ।
सहयोग वितरण कार्यक्रममा रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ सी का फस्ट भाइस डिस्टिक गभर्नर लिला प्रसाद चिमरिया, सेकेन्ड भाइस डिस्टिक गभर्नर रमेश खत्री, क्याबिनेट सेक्रेटरी नेत्र प्रसाद चौलागाई, लायन्स क्लब अफ झुम्काका संस्थापक अध्यक्ष दुर्गा प्रसाद फुँयाल, पूर्व अध्यक्ष पुष्प दाहाल, वर्तमान अध्यक्ष नवराज खडका लगायतको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ क्विन्स बुद्धका चार्टर प्रेसिडेन्ट कृष्ण आचार्यको पहलमा अमेरिकास्थित न्यूयोर्कबाट सहयोग सामग्री जुटाइएको हो । उक्त सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै लायन्स क्लब अफ झुम्काका पूर्व अध्यक्ष पुष्प दाहालले आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरिएको बताए । ‘अमेरिकामा रहेर पनि नेपालको लायन्सलाई सहयोग गर्दै सेवाका हातहरू अगाडि बढाउनु भएकोमा चार्टर प्रेसिडेन्ट कृष्ण आचार्य र क्विन्स बुद्ध क्लबलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ,’ उनले भने ।
कार्यक्रममा बोल्दै रामधुनीका नगर प्रमुख चौधरीले समाजका सबै वर्गलाई समेट्ने कार्यमा लायन्स क्लबको योगदान उदाहरणीय रहेको उल्लेख गरे । यो सहयोग कार्यक्रमले बौद्धिक अपाङ्गता भएका बालबालिकामा आत्मबल बढाउने र उनीहरूलाई थप प्रेरणा प्रदान गर्ने नगर प्रमुख चौधरीले विश्वास व्यक्त गरे । साथै, अमेरिकाबाट सहयोग उपलब्ध गराउने कार्यमा भूमिका खेलेका कृष्ण आचार्यलाई समेत नगर प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, ‘अमेरिकामा रहेर पनि हाम्रो पालिकाका बालबालिकालाई सहयोग गर्नुभएकोमा कृष्ण आचार्य ज्यू र लायन्स क्लब अफ क्विन्स बुद्ध परिवारलाई म सिंगो नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’
लायन्स क्लबले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।






























Discussion about this post