रामधुनी । रामधुनी नगरपालिका–५ मा सञ्चालित आरम्भ विद्या मन्दिर स्कुल परिसरमा दुईदिने स्काउट क्याम्प सम्पन्न भएको छ । ‘जम्प इन्टु एडभेञ्चर’ नाम दिइएको उक्त क्याम्प शुक्रबार सुरु भएर शनिबारसम्म चलेको छ ।
नेपाल स्काउट अन्तर्गत कोशी प्रदेश स्काउटमा आबद्ध आरम्भ स्काउट टिमले आयोजना गरेको कार्यक्रममा शिविर बसाई, बाहिरी गतिविधि र क्याम्पफायर जस्ता क्रियाकलाप समावेश गरिएको विद्यालयका सञ्चालक हरि रायमाझीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ९६ जना बालबालिकाको सहभागिता रहेको थियो ।
बालबालिकालाई नेतृत्व विकास, सिप, अनुशासन, समूह भावना र साहसिक गतिबिधिमा सहभागि गराउँने उद्देश्यले क्याम्प आयोजना गरिएको प्रधानाध्यापक विमल बरालले बताए । ‘नेतृत्व विकास, सिप, अनुशासन र आत्मनिर्भरता जस्ता पक्षमा यो क्याम्पले योगदान पुर्याएको छ । आजको परिवर्तित समाजको ढाँचा, स्वार्थीपना, हराउँदै गएको मानविय धर्म, कमजोर बन्दै गएको सामाजिक एकताजस्ता कुरालाई जोगाउँनका लागि र एउटा सभ्य समाज निर्माणका लागि यस्ता खालका गतिबिधिले सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले स्काउटसम्बन्धी यस्ता गतिविधिले बालबालिकामा सकारात्मक सोच, आत्मबल, जिम्मेवारीपन र सेवाभावको विकास गराउने बताइन् । क्याम्पले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले जिम्मेवार नागरिक उत्पादनमा योगदान पुर्याएने धारणा राखिन् ।

































Discussion about this post