रामधुनी । रामधुनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा खुलेका छन् । स्थानीय तहमा बलियो जनाधार र व्यक्तिगत लोकप्रियता बनाएका चौधरीको यो राजनीतिक निर्णयलाई आगामी निर्वाचनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ ।
चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा आबद्ध हुँदै उनले २०७९ को निर्वाचनमा सोही पार्टीबाट उम्मेदवारी दिएका थिए । पार्टी विभाजनका बाबजुद उनले आफ्नो प्रभाव कायम राख्दै पुनः वडाध्यक्षमा विजय हासिल गरेका थिए ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १६ वटा कम्युनिष्ट घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि चौधरी केही समय सार्वजनिक गतिविधिमा मौन देखिएका थिए । उनी घनश्याम भुसाल समूहका नेता धर्मराज निरौलासँग नजिक रहेकाले औपचारिक धारणा सार्वजनिक नगरी राजनीतिक अवस्थाको मूल्यांकन गरिरहेको बुझिएको थियो ।
बिहिबार रामधुनीमा आयोजित नेकपाको एकता सन्देश सभामा सहभागी हुँदै चौधरीले कम्युनिष्ट शक्तिहरूबीचको एकतालाई सकारात्मक र आवश्यक कदमका रूपमा व्याख्या गरे । उनले एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको तत्कालीन नेकपा दीर्घकालीन रूपमा टिक्न नसक्नु दुःखद भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी नेतृत्व तहले लिनुपर्ने धारणा व्यक्त गरे ।
२०७९ को स्थानीय तह निर्वाचन परिणामले चौधरीको व्यक्तिगत लोकप्रियता स्पष्ट देखाएको छ। उनले १ हजार ६७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश चौधरी ५८९ मतमा सीमित भए । त्यस्तै, एमालेका उम्मेदवार योगेन्द्र खड्काले ५५० मत मात्र प्राप्त गरे । कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्नु चौधरीको स्थानीय पकडको संकेत मानिन्छ ।
वडाध्यक्षसँगै वडा सदस्यतर्फ पनि उनको प्रभाव देखिएको थियो। चौधरीको नेतृत्वमा वडा नं. ९ का चारै जना सदस्य नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।
विगतमा रामधुनीमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने गरेको भए पनि बदलिँदो राष्ट्रिय राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीसहित नयाँ दलहरूको उदय, जेन–जी आन्दोलन र हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले परम्परागत राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन ल्याउने संकेत देखिएको छ । घनश्याम चौधरीको पछिल्लो निर्णयले रामधुनी नगरपालिकामा कांग्रेस र एमालेमाथि चुनौती थपिने आँकलन गरिएको छ ।
































Discussion about this post