रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि निर्घात कुटपिट गर्ने सन्तोष साहसहित ५ जनाविरुद्ध पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर २८ बर्षीय साहसहित उनको परिवारका सदस्यहरु २० बर्षीय निशान साह, २९ बर्षीय ललिता शाह, ३६ बर्षीय हिरा साह र ५५ बर्षीय जलेश्वरी देवी साहविरुद्ध पीडित महिलाले जाहेरी दिएकी हुन् ।
पीडित महिलाले आफुमाथि पीडक पक्षले ‘अभद्र व्यवहार गरेको’ भन्दै मुलुकी अपराध संहिता २०७४ को परिछेद ५ दफा ११८ बम्मोजिम अपराध गरेको दावी गर्दै सोहि अनुसार कारबाहीको माग गरेकी छिन् ।
जसमा ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यस्तो उद्योग गर्न हुँदैन’ भनि उल्लेख गरिएको छ ।
पीडित महिलाको उजुरी अनुसार पीडक सन्तोष साहसहित उनको परिवारका सदस्यमाथि १ बर्षसम्म कैद हुनसक्छ । उक्त दफाको उपदफा २ (१) मा ‘कसुर गर्ने वा गराउने व्यक्तिलाई १ बर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भनि उल्लेख गरिएको छ । कानुनी कारबाहीसँगै पीडित महिलाले पीडक पक्षसँग क्षतिपूर्तिकोसमेत माग गरेकी छन् ।
पुरानो घटनालाई लिएर आफु घरमा खाना पकाइरहेको अवस्थामा हातपात गरी घिसार्दै लगेर कुटपिट गरिएको पीडित महिलाको दावी छ ।
महिलामाथि कुटपिटमा संलग्न सन्तोष साह र उनकी श्रीमती तलिता साहलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीका डिएसपी राज कुमार राईले हाम्रोशब्दलाई जानकारी दिए ।
पीडित महिलामाथि साह परिवार मिलेर सामुहिक रुपमा निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा चासोको बिषय बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पीडित महिलाले न्याय पाउनुपर्ने भन्दै दोषीलाई कडा कारवाहीको माग गरिरहेका छन् ।
- यस्तो छ पीडित महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडक सन्तोष साह लगायतविरुद्ध दिएको जाहेरी ।



































Discussion about this post