रामधुनी । रामधुनी नगरपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिर परिसरमा ‘निमकरोली बाबाको मन्दिर’ निर्माण गरिने भनेर सामाजिक सञ्जाल तथा मिडियामा उठेका आलोचनापछि नगरपालिकाले त्यसको खण्डन गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा प्रस्ट पार्दै भनेका छन्, ‘निमकरोली बाबाको मन्दिर स्थापना गर्ने कुरा कपोकल्पित, असत्य तथा भ्रामक हो ।’ उनले रामधुनी मन्दिर क्षेत्रको धार्मिक गरिमा कायम राख्दै मात्र पर्यटन प्रवद्र्धन गर्न खोजिएको स्पष्ट पारेका छन् ।
चौधरीका अनुसार रामधुनी मन्दिर परिसरमा मन्दिर नभई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसारको धर्मशाला निर्माण कार्य अघि बढाइएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाले निमकरोली बाबाको मन्दिर स्थापना गर्न जग्गा दिने कुनै निर्णय नगरेकोसमेत प्रष्ट पार्दछु ।’ उनले थप भनेका छन्, ‘पवित्र धार्मिक स्थल रामधुनी मन्दिरलाई पर्यटकीय धार्मिक स्थलको रूपमा विकास गर्न बनाइएको डिपीआरअनुसार नै धर्मशाला निर्माण गर्न मिति २०८२/०१/२९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय श्री सदानन्द मण्डलद्वारा शिलान्यास गरिएको हो ।’ यद्यपि, सोही दिन बैशाख २९ गते आयोजित शिलान्यास कार्यक्रममा ‘निमकरोली बाबा मन्दिर तथा धर्मशाला शिलान्यास कार्यक्रम’ लेखिएको व्यानर प्रयोग गरिएको थियो । कार्यक्रममा मन्त्री मण्डल, नगर प्रमुख चौधरी, उपप्रमुख तारा थापा लगायतको उपस्थिति थियो ।
यस घटनापछि सामाजिक सञ्जाल र स्थानीय वृत्तमा मन्त्री मण्डलसहित नगरपालिकाको तीव्र आलोचना भइरहेको छ । वनखण्डी बाबासँग सम्बन्धित रामधुनीको ऐतिहासिकता र मौलिक पहिचान मेटिनेगरी निमकरोली मन्दिर निर्माण गर्न लागिएको रामधुनी मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले आरोप लगाएका थिए । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै शिलान्यास गरिएको मन्दिरसहितको संरचना बन्न नदिने चेतावनीसमेत दिएका थिए ।
नगरपालिकाले धर्मशाला बनाउँन अनुमति दिएको भनिएको निमकरोली बाबा सेवा समितिका अध्यक्ष अच्युत तिम्सिना धर्मशाला बनाउँने तयारी गरिएको भए पनि भ्रामक हल्ला फिँजाइएको दावी गर्छन् । ‘यो क्षेत्रको पर्यटकीय बिकासकै लागि भनेर एउटा धर्मशाला बनाउँने हाम्रो योजना हो । तर निमकरोली मन्दिर बनाउँन लागेको भनेर गलत हल्ला फिँजाइयो । त्यो गलत हो । मन्दिर बन्ने होइन, धर्मशाला बन्ने हो ।’ सेवा समितिका अध्यक्ष तिम्सिनाका अनुसार धर्मशाला बनाउँन करिब ७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । बजेटको एकिन स्रोत नभए पनि बाबाका अनुयायी तथा अन्य दाताहरुको सहयोगमा धर्मशाला निर्माण हुने उनले बताए ।
रामधुनी नगरपालिकाको २०८१ मंसिर १९ गते बसेको कार्यपालिका बैठकले ‘मन्दिरको डिपीआरसमेतलाई असर नपर्नेगरी’ धर्मशालाका लागि जग्गा एकिन गर्ने निर्णय गरेको थियो । तर निर्णयमा निमकरोली बाबा सेवा समितिलाई धर्मशाला तथा मन्दिर बनाउँन अनुमति दिने बिषय भने उल्लेख गरिएको छैन ।