रामधुनी । थारु कल्याणकारीणि सभा (थाकस) रामधुनी नगर समितिले झुम्कामा आयोजना गर्न लागेको फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम स्थगन गरिएको छ । आयोजकले दिएको जानकारी अनुसार यहि जेठ ९ गते तय गरिएको महोत्सव मौसम प्रतिकूलताका कारण दुई दिन पछाडि सारिएको हो ।
अब फेस्टिवल जेठ ११ गतेदेखि औपचारिक रूपमा सुरु हुने थाकस नगर कार्य समिति रामधुनीका सभापति राजकुमार चौधरीले जानकारी दिए । ‘मिति–२०८२–०२–०९ गते समुदघाटन गर्ने भनिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण उक्त कार्यक्रमको समुदघाटन मिति– २०८२–०२–११ गते हुने भएको सबैमा जानकारी गराउन चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ।
थारु समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली र स्थानीय उत्पादनलाई उजागर गर्न रामधुनीमा फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । आयोजकका अनुसार महोत्सव अवधिभर २० वटा स्टल सञ्चालनमा रहनेछन् । ती स्टलहरूमा थारु मौलिक परिकार, परम्परागत भाँडाकुँडा, खेतीबालीमा प्रयोग हुने औजार लगायत प्रदर्शनीमा राखिने सभापति चौधरीले बताए । सांस्कृतिक कार्यक्रम महोत्सवको अर्को मुख्य आकर्षणको रुपमा रहेको छ । विशेष गरी थारु परम्परागत नृत्यलाई प्राथमिकता दिँदै प्रत्येक दिन स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने थाकस रामधुनी जनाएको छ ।