रामधुनी । रामधुनी नगरपालिकाले अति विपन्न दलित समुदायका लागि स्वास्थ्य बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने भएको छ । मंगलबार उपप्रमुख तारा थापाले १८ औँ नगर सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा डोम, मुसहर, चमार तथा अति विपन्न समुदायको स्वास्थ्य विमा कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाका अनुसार स्वास्थ्य बीमामा दलित समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको हो । अति विपन्न तथा पछाडि पारिएका दलित समुदायलाई बीमा कार्यक्रममार्फत उपचारमा सहज पहुँच बनाउने र विपन्न समुदायको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउँने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । बीमाको बाँकी २० प्रतिशत रकम लाभग्राही स्वयंले व्यहोर्नेछन् ।
रामधुनीले आगामी आर्थिक बर्षका लागि कुल ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमा चालु खर्चतर्फ ४७ करोड ७३ लाख ७७ हजार र पुँजीगत खर्चतर्फ करिब ३५ करोड ३९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)






























Discussion about this post