रामधुनी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोडेर जलवायु न्यायको माग गर्दै सुनसरीको झुम्कामा र्याली आयोजना गरिने भएको छ । भदौ १० गते भोटेकोशीमा आएको भीषण हिमबाढीले पुर्याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै नेपालले भोगिरहेको जलवायुजन्य क्षतिको न्यायोचित क्षतिपूर्ति माग गर्न र्याली आयोजना गर्न लागिएको हो ।
नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाहरूको पहलमा शनिबार बिहान ७ बजे झुम्का बजारस्थित मिनिपार्कबाट र्याली निकालिने भएको छ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि बाढी, पहिरो तथा अन्य विपद्को असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराउने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक पुष्प भट्टराईले जलवायु परिवर्तनका कारण प्रभावित नेपालले न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने बताए । ‘जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य छ, तर यसको असर हामीले ठूलो मूल्य चुकाएर भोगिरहेका छौं,’ उनले भने, ‘नेपालले भोगेको क्षतिको क्षतिपूर्ति र जलवायु परिवर्तन न्यूनीकरणका लागि विश्व समुदायलाई जिम्मेवार बनाउन दबाब दिनु र्यालीको उद्देश्य हो ।’
आयोजकमध्येका सुमन पौडेलले जलवायु न्यायका विषयमा संघीय सरकार र बुद्धिजीवी वर्गबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचहरुमा विभिन्न विषय उठाइँदै आए पनि नागरिकस्तरबाट समेत यो मुद्दालाई उठाउन कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
र्यालीमा ‘हामीलाई जलवायु न्याय चाहिन्छ, केवल वाचा होइन’, ‘जलवायु न्यायका लागि काम गरौं, हरेक पुस्ताको संरक्षण गरौं’ र ‘एउटै पृथ्वी, एउटै भविष्य–सबैका लागि जलवायु न्याय’ लगायतका नारा लगाइने पौडेलले बताए ।
र्याली भदौ २७ गते शनिबार बिहान ७ बजे झुम्का बजारस्थित मिनिपार्कबाट सुरु हुनेछ । मिनिपार्कबाट सुरु भएको र्याली लगौना चोक हुँदै मिटमार्टसम्म पुगेर पुनः मिनिपार्क पुगेपछि अन्त्य हुँनेछ ।



































Discussion about this post