रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको एकमात्र बहुमुखी क्याम्पस भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचन आइतबार हुने भएको छ । अध्यक्ष पदमा नारायणप्रसाद काफ्लेको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुने निश्चित भएको छ । निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी रहेको जनाएको छ ।
क्याम्पस निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद न्यौपानेका अनुसार अध्यक्ष पदसँगै आरक्षणतर्फका तीन सदस्य पनि निर्विरोध भएका छन् । विधानअनुसार जग्गादाता र आजिवन सदस्यहरु (४७ जना) मध्येबाट प्रतिनिधित्व हुनेगरी तीन जनाको कोटा निर्धारण गरिएको छ । ती आरक्षित तीन सदस्य पदका लागि तीनजनाको मात्रै उम्मेदवारी परेपछि ईश्वर घिमिरे, केशिलाल चौधरी र भीम लुइटेल निर्विरोध चयन भएका हुन् ।
यद्यपि खुला तथा महिला सदस्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । आठ खुला सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने दुई महिला सदस्य पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष तथा आरक्षित सदस्य पदमा उम्मेदवारी संख्या पदसंख्यासँग बराबर भए पनि खुला र महिला सदस्यतर्फ सहमति जुट्न नसकेपछि मतदानमार्फत चयन गर्न लागिएको हो ।क्याम्पसको मतदाता नामावलीमा ३३४ जना मतदाता रहेका छन् । उनीहरूले खुला र महिला सदस्य पदका उम्मेदवारमध्ये आफ्नो प्रतिनिधि चयन गर्नेछन् ।
समिति अध्यक्षसहित १४ जनाको हुनेछ । जसमा ८ खुल्ला सदस्य, २ महिला सदस्य र तीन आरक्षित सदस्य हुनेछन् भने उपाध्यक्ष निर्वाचित समितिले निर्णय गरेर बनाउँने व्यवस्था गरिएको छ ।



































Discussion about this post