रामधुनी । थारू समुदायको महान् पर्व जितिया सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का बजारमा भव्यतापूर्वक सम्पन्न गरिएको छ ।
शनिबार थारु कल्याणकारीणि सभा रामधुनी, थारु महिला उत्थान समाज सुनसरी, थारु महिला सभा सुनसरी र थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको संयुक्त आयोजनामा भव्य जितिया कार्यक्रम सम्पन्न गरिएको हो ।
असोज कृष्ण पक्षको सप्तमी तिथिदेखि शुरु हुने यो पर्व तीन दिनसम्म मनाइन्छ । जितियाको मुख्य दिन शनिबार थारु समुदायमा प्रचलित धुम्रानाच, जटजाटिन, झुमैर, बिरहैन, फोकराजस्ता विभिन्न परम्परागत नृत्यहरु प्रस्तुत गर्दै मनाइएको हो ।
कार्यक्रमको व्यानरमा ‘एकीकृत जितिया पावैन–२०८०’ लेखिएको थियो । अघिल्ला बर्षहरुमा विभिन्न संघ–संस्थाहरुले फरकफरक स्थानमा कार्यक्रमको आयोजना गर्ने गरेको भए पनि यो बर्ष भने थारुसँग सम्बन्धित चार ओटा संघ–संस्थाहरुले एकै ठाउँमा कार्यक्रम आयोजना गरेर जितियालाई थप भव्य बनाइएको थारु कल्याणकारीणि सभा रामधुनीका सभापति राजकुमार चौधरीले बताए ।
रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपमेयर तारा थापा, पूर्व प्रदेश सभा सदस्य नवोदिता चौधरी, नेपाली कांग्रेस नगर सभापति सुदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममलाई सम्बोधन गर्दै मेयर चौधरीले नगरमा करिब आधा जनसंख्या थारुहरुको रहेकाले नगरपालिकाको पहिलो सम्बन्ध थारु समुदाय भएको बताएका छन् । त्यस्तै, उपमेयर थापाले आफुहरुले बजेट बिनियोजन गर्दा थारु समुदायललाई प्राथमिकतामा राखिएको भन्दै भबिष्यमा पनि थारुहरुलाई नगरले प्राथमिकता दिने बताइन । उनले थारु महिलाहरु पनि समाजका हरेक क्षेत्रको नेतृत्वमा पुग्नु आवश्यक रहेको धारणा राखेकी छन् ।
थारु महिला/आमाहरू आफ्ना सन्तान तथा परिवारको दीर्घायु, सुख–समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत बस्ने गर्दछन् ।