प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजया दशमी २०८० को उपलक्षमा शुभकामना दिदै पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले नेपालीहरु वैभवशाली र गौरवशाली भएको बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सचिवालयबाट जारी शुभकामना सन्देशमा भनिएको छ, “पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ।”
नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञान–विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सकिने प्रधानमन्त्री दाहालको भनाई छ ।
त्यस्तै प्रधानमन्त्री दाहालले जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोँचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता भएकोसमेत बताएका छन् ।
- यस्तो प्रधानमन्त्रीको शुभकामना सन्देश
नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। योसँगै हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु।
यतिखेर हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौं। लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती हाम्रासामु छ। हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ।
जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोँचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता हो। हाम्रासामु अर्थतन्त्रमा परेको दवाव, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती छन्। तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्यौं भने हरेक अवरोध छिचोल्न सक्छौं। यही तथ्यलाई आत्मसात गर्दै सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ। सरकारको यो प्रयासमा सम्पूर्ण आदरणीय जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यवद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण छ।
अन्तमा, राष्ट्र निर्माणको यही संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउनु हुन सबैमा हार्दिक आव्हान गर्दछु। नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमी २०८० को पुनः शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
४ कार्तिक, २०८०
Discussion about this post