धरान । धरान उपमहानगरपालिका उपप्रमुख तथा नेकपा माओवादी केन्द्रका नेता आइन्द्र विक्रम वेघाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभन्दा उत्कृष्ट व्यवस्था राजतन्त्र हुन नसक्ने बताएका छन् ।
शनिबार रामधुनी नगरपालिका वडा नम्बर ७ मा समावेशी एकता समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै वेघाले भने ‘केहि मान्छेहरु राजतन्त्रको प्रेतआत्मा बोकेर गणतन्त्रविरुद्ध भ्रम छर्दै हिडेका छन्, निश्चित परिवारले शासन गर्ने राजतन्त्र हामी स्वीकार्दैनौँ, मान्दैनौँ । जनताले जनताकै छोराछोरीलाई देशको सर्वोच्च संस्थाको नेतृत्वमा पुर्याउँने यो व्यवस्थाभन्दा उत्तम अन्य हुन सक्दैन ।’
राजाहरुले मान्छे मार्दासमेत कानुन नलाग्ने विगताका कहालिलाग्दा दिनहरु भुल्न नहुने उनको भनाई छ ।
आदिवासी–जनजाती र दलितहरुले अधिकार पाएको आरिस गर्नेहरु गणतन्त्रकोविरुद्धमा लागेको उनले बताए । ‘जनजाती रमायो, दलितले अधिकार पायो भनेर आरिस गर्नेहरु यो व्यवस्थाको विरुद्धमा छन् । त्यसैले तिनीहरुको आँखा टाल्दिनको निमित्त हामीले गाउँगाउँ टोलटोलबाट गणतन्त्रको रक्षाका लागि हामी अगाडि बढनुपर्छ ।’