रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले २०४६ पछिको नेपाललाई भावनाले होइन, तथ्याङ्कका आधारमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरे ।
उनका अनुसार हाल नेपालको प्रतिव्यक्ति आय करिब १,४०० अमेरिकी डलर नाघेको, साक्षरता दर ७५ प्रतिशतभन्दा माथि पुगेको र सडक, विद्युत्, इन्टरनेट, स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा सुधार भएको छ । यी उपलब्धि कुनै एक व्यक्तिको नभई प्रणाली, नीतिगत निरन्तरता र जनताको प्रयासको परिणाम भएको उनले बताए ।
तर विकास अझै अपूर्ण रहेको स्वीकार्दै उनले बेरोजगारी, कमजोर उत्पादन र वैदेशिक रोजगारीमा निर्भरता जस्ता समस्या कायम रहेको उल्लेख गरे । आलोचना आवश्यक भए पनि सस्तो सनसनी र अर्धसत्यले लोकतन्त्र कमजोर बनाउने उनको भनाइ छ ।
मेयर पौडेलले जिम्मेवार मिडिया र सचेत नागरिकको भूमिकाले मात्र लोकतन्त्र सुदृढ हुने उल्लेख गर्दै कामको कदर, गल्ती सुधार र राष्ट्रलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।



































Discussion about this post