रामधुनी । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रले सुनसरीको रामधुनी नगरपालिकाका सम्पुर्ण वडाहरुमा आजदेखि अभियान सुरु गरेको छ ।
माओवादीले रुपान्तरण अभियानमा केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश कमिटी सदस्यहरुलाई अन्तरपालिकामा काम गर्ने गरी जिम्मेवारी तोकेको थियो । सोहि अनुसार रामधुनीमा केन्द्रीय सदस्य जीवन आचार्यको नेतृत्वमा प्रदेश सदस्यहरु सन्तोष थारु, आइन्द्र विक्रम बेघा, टिका प्रसाईँ र पुर्ण भुजेललाई जिम्मेवारी तोकिएको पार्टी नगर कमिटी अध्यक्ष बलराम चौलागाईले जानकारी दिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारले देश र जनताको पक्षमा गरिरहेका जनपक्षीय कामहरुको प्रचारप्रसार गर्ने, पार्टीको आन्तरिक समस्याको पहिचान गर्ने, माओवादीप्रति जनताका गुनासा सुन्ने र समाधानका उपाय खोज्ने कार्य अभियानको मुख्य उद्देश्य भएको आचार्यले बताए ।
अभियान अन्तर्गत रामधुनी वडा नम्बर ६ मा केन्द्रीय सदस्य आचार्यको नेतृत्वमा आदर्श माध्यमिक विद्यालय सरसफाईको काम गरेको माओवादीले वडा नम्बर ७ मा प्रदेश सदस्य बेघाको नेतृत्वमा खानेपानीको पाइप विस्तार कार्यका लागि श्रमदान गरेको छ । अन्य वडाहरुमा भेला, बैठक लगायत काम भएको माओवादीले जनाएको छ ।
गत साउनमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी र सरकारको सन्देश गाउँ घरमा पुर्याउने उद्देश्यसहित रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । नेताहरुका अनुसार आज सुरु भएको अभियान ३ महिनासम्म चल्नेछ ।

































Discussion about this post